विद्युतमा त्यो पैसा कहाँबाट आयो ?

चार महिना कार्यकाल बाँकी छँदै उज्यालो ‘नायक’ को छवि बनाएका कुलमान घिसिङलाई ओली–देउवा सरकारले अघिल्लो महिना हटायो । देश चरम ऊर्जा संकटबाट गुज्रिरहेको बेला आठ वर्षअगाडि माओवादी नेतृत्वको सरकारले कुलमानलाई प्राधिकरणमा नियुक्ति गरेको थियो । भारतबाट विद्युत् आयात गर्दै आन्तरिक व्यवस्थापन सुधारेपछि दैनिक १८ घण्टासम्म अँध्यारो झेलेको नेपाललाई ‘उज्यालो’ बनाए ।
तर, दोश्रो कार्यकाल सुखद भएन । डेडिकेटेड र ट्रंकलाइन महसुल विवादमा उद्योगी, व्यवसायी हुँदै सरकारको चर्काे घेराबन्दीमा परे । एक पटक क्याबिनेट र पाँच पटक मन्त्रालयले स्पष्टीकरण सोधेर अन्ततः उनलाई बर्खास्त गरियो । उनको बहिर्गमनसँग झ्याप्प–झ्याप्प बत्ती जान थालेको छ । त्यसको असर जनताको घरदेखि सिंहदरबारसम्म परेको देख्न सकिन्छ । गत साता सिंहदरबारमा शिक्षा समितिको बैठकसमेत मोबाइलको टर्च बालेर सञ्चालन गरिएको थियो । अहिले उनै कुलमान र हितेन्द्र शाक्यबीच ‘डाटा वार’चलिरहेको छ ।
हितेन्द्रले श्वेतपत्र निकालेर कुलमानलको पालामा नाफाको हिसाब किताबलाई ‘कागजी’ अर्थात् फेक भन्दै आएका छन्् भने हितेन्द्रलाई कुलमान ‘बिचरा’ को संज्ञा दिन्छन् । कुलमानकै शब्दमा उक्त श्वेतपत्र ऊर्जा मन्त्रालयको एउटा टिमले तयार पारेको हो । जसको एक मात्र उद्देश्य कुलमान, विद्युत् प्राधिकरणलाई खराब देखाएर राष्ट्रघाती काम गर्नु हो ।’
– हरि गजुरेल
० सगरमाथा संवादका नाममा अन्तर्राष्ट्रिय संवाद चलिरहेका बेला झ्याप्प–झ्याप्प बत्ती जाने–आउने भइरह्यो । यो त अन्तर्राष्ट्रिय बेइज्जती भएन र ?
– यसमा व्यवस्थापकीय र प्राविधिक कमजोरी जोडिन्छ । जेठ–असारमा के–कस्ता समस्या आउँछ ? ती समस्यासँग कसरी मुकाविला गर्ने ? त्यहीअनुसार ‘राइट म्यान इन राइट प्लेस’ को व्यवस्थापन गर्नेुपर्ने हुन्छ । त्यतातिर ध्यान नदिएर मन्त्रालयदेखि प्राधिकरणसम्म एमडीले के–के गरेका थिए भनेर श्वेत पत्र बनाउनतिर लागे । झण्डै एक महिना त्यही श्वेत पत्र बनाउनमा लाग्यो । गलत तथ्यांकको साहारा लिइयो । प्रशारण र वितरण लाइन अनि सब स्टेशनमा समस्या छन् भने तत्काल कसरी सुधार्ने ? यस्ता विषयलाई ध्यानमा राखिएन ।
० विद्युत् प्राधिकरण भनेकै कुलमान, कुलमान भनेकै विद्युत् प्राधिकरण भन्ने भाष्य बन्यो । एउटा एमडी हटेलगत्तै झ्याप्प–झ्याप्प बत्ती जानुपर्ने त्यति कमजोर छ र नेपालको विद्युत् संयन्त्र ?
‑ सात वर्षपहिले नै नेपाल लोडसेडिङमुक्त भइसकेको हो । मन्त्री, सचिव, एमडीसम्मलाई तल विश्वास नहुँदा यस्ता समस्या दोहोरिरहन्छन् ।
० तपार्इंले ४६ अर्ब देखाएको नाफालाई हितमान शाक्यले कागजी नाफा हो भनेका छन् । किन फेक डाटा देखाएको ?
‑ सञ्चित नाफा ४६ अर्ब ४७ करोड भनेर मैले जे भन्दै आएको थिएँ, उहाँले पनि त्यही लेख्नुभएको छ । आठ वर्षदेखि विद्युत् प्राधिकरण नाफामा छ । म आउँदाखेरी ०७२/०७३ सम्म ३५ अर्ब घाटामा थियो, म निस्कने बेलासम्म ४७ अर्ब नाफामा ल्यायौँ । अगाडिको ३५ र अहिलेको ४७ अर्ब जोड्दा करिब ८२ अर्ब नाफा मेरो कार्यकालमा भएको छ । त्यसमा कसैले प्रश्न गर्न सक्दैन ।
०६७ सम्मको ‘राइट अप’लाई पनि उहाँले जोडेर ६२ अर्ब घाटा देखाउनुभएको छ । ८२ अर्बको नाफाबाट ६२ अर्ब घटायो, ह्रासकट्टी बढायो, त्यसो गर्दा ५ अर्ब घाटा भनेर देखायो । यो सर्वसाधारणलाई भ्रममा राख्न खोजिएको मात्र हो । ०७६/७७ सम्म फुल अडिटमा ८ अर्ब नाफा छ । त्यसको ३ अर्ब टयाक्स, त्यसपछिको चार वर्षमा वार्षिक १० अर्ब नाफाको हिसाब गर्दा यो अवधिमा झण्डै ४० अर्बसहित ४६ अर्ब नाफा हुन्छ । यो डाटा उहाँलाई थाहा छैन । यो प्राधिकरणबाट नभई ऊर्जा मन्त्रालयबाट तयार भएको डाटा हो ।
तर, उपलब्धि ढाकछोप गर्नका लागि आयकर ऐनको व्यवस्थाअनुसार ५ अर्ब ६६ करोड घाटा छ भन्नुभएको छ । आयकर ऐनअनुसारको नाफा नोक्सान हामी काउन्ट गर्दैनौँ । ०७२ सालमा म आउँदा बैंकबाट ऋण लिएर तलब खुवाउनुपर्ने अवस्था थियो । हरेक दिन विद्युत् प्राधिकरणमा ३० देखि ३५ करोड राजश्व आउँछ । आन्तरिक स्रोतबाट मात्र १ सय ६१ अर्ब लगानी गरिएको छ, आठ वर्षमा । यो पैसा कहाँबाट आयो ?
० यसरी किन तथ्यांक तोडमोड गरियो होला त ?
‑ गलत तथ्यांक दिएर कसलाई फाइदा हुन्छ ? मैले छोड्ने बेला प्राधिकरणमा १० अर्ब १० करोड नगद थियो । हामीले ८ वर्षमा तीन पटक गरेर २५ प्रतिशतले विद्युत् महसुल घटायौं । व्यवस्थापन गर्न सके यो पर्याप्त रकम हो ।
अडिट रिपोर्टमा हुँदै नभएको र ७ अर्ब १९ करोड खर्च लेखांकन नै नगरेको यो ०८०/०८१ आर्थिक वर्षमा, ४ अर्ब ७२ करोड रूपैयाँभन्दा बढी आम्दानी बाँधेको भनिएको छ । यसरी मनगढन्ते लेख्न पाइन्छ ? श्वेतपत्र मन्त्रालयबाट तयार भएको र प्राधिकरणबाट वाचन गरिएको हो । कुलमानलाई डाउन साइज गर्दा देशको ऊर्जा संकट टर्छ ?
० प्राधिकरणलाई ट्रलीबस बनाउन केही तत्व लागेका छन् भन्ने यहाँको आशय हो ?
– तथ्यलाई तोडमोड गर्नुको मतलब क्राइसिस क्रियट गर्न खोज्नु हो । यो क्राइसिसको बीचमा धेरै व्यापार हुन्छन् । यो सेक्टर एकदमै आशलाग्दो छ भनेर जानुपर्नेमा उल्टै डुब्न लाग्यो, खत्तमै छ भनेर दियो निभाउन खोज्ने ?
० विद्युत्् प्राधिकरणको वित्तीय अवस्था ठीक छैन, टाट पल्टिन लाग्यो भन्दा क–कसलाई फाइदा हुन्छ ?
– मानौं, भोलि कुनै बैंक डुब्दै छ भनेर हल्ला फैलाइयो भने भोलिपल्टदेखि बचत फिर्ता झिक्न निक्षेपकर्ताको लाइन लाग्छ । पेट्रोल, ग्यास हाहाकार हुँदै छ भनेर हल्ला फिँजाइयो भने कालोबजारी बढ्छ । लोडसेडिङ बढाएपछि इन्भर्टर, ब्याट्री, सोलार, जेनेरेटरको व्यापार बढ्छ । अहिले यी सामग्रीको व्यापार बढेको सर्वसाधारणले बुझेका छैनन् र !
अहिले प्राधिकरणलाई संकटमा देखाउँदा क–कसले खेल्छ ? बैंकले कसरी लगानी गर्छ ? करिब ४ खर्ब प्राइभेट बैंकले ऊर्जा क्षेत्रमा लगानी गरेको छ । विश्व बैंकदेखि अनेकन विदेशी बैंकको ऊर्जा क्षेत्रमा लगानी छ । यसरी गलत भाष्य स्थापित गर्न खोज्दा कति असर पर्छ भनेर उहाँहरूले कहिल्यै अनुमान गर्नुभयो ?
० वर्तमान सरकारले तपार्इंसँग प्रतिशोध साँध्नुपर्ने कारण के थियो ?
– बाँकी चार महिना म पदमा रहँदा उहाँहरूको स्वार्थअनुरुप काम पूरा नहुने भयो र हटाइयो र अर्काे कारण डेडिकेटेड फिडको महसुल पनि हो ।
० यहाँले विद्युत् क्षेत्रमा के गर्न खोज्नुभएको थियो ?
– १८ घण्टा अँध्यारो घटेको छ । २५ प्रतिशत महसुल घटाइएको छ । आठ वर्षअघि ८५६ मेगावाट उत्पादन थियो । अहिले ३५१२ मेगावाट पुगेको छ । म जाँदा ५८ प्रतिशत कभरेज, थियो अहिले ९९ प्रतिशत विद्युतीकरण भएको छ । ३५ अर्ब घाटामा रहेको संस्थाको आठ वर्षमा सञ्चित नाफा ४६ अर्ब पुगेको छ । भारतमा १ हजार मेगावाट र बंगलादेशमा ४० मेगावाट निर्यात शुरु भएको छ । जबकि यसअघि २२ अर्बको विद्युत् आयात हुँदै आएको थियो । अहिले भारतलाई १७ अर्ब ६ करोडको विद्युत् निर्यात गर्न सकिएको छ । ९७ प्रतिशत नेपालीको घरमा विद्युत् पुगेको छ ।
२ प्रतिशत अफग्रिप (वैकल्पिक) गरेर ९९ प्रतिशत हुन आउँछ । तीन वर्षमा १० लाख ग्राहक बढेको छ । पहिले २६ प्रतिशत चुहावट थियो– अहिले १२ प्रतिशतमा झरेको छ । गत आर्थिक वर्ष १४ अर्ब ४८ करोड खुद नाफा भएको थियो । एक खर्ब ६८ अर्बको लगानी प्रसारण लाइन, वितरण लाइनदेखि लिएर जेनेरेसनमा भएको छ । सरकारले छुट्टै डेढ सय अर्ब लगानी गरेको छ । त्यो लगानी भएर सम्पत्तिमा परिणत भइसक्यो । ८ वर्षअघि २ सय ११ अर्ब सम्पत्ति थियो, अहिले ६ सय ४४ अर्ब पुगेको छ । त्यो लगानी गरेर आएको हो । नाफा हुँदैमा नगद त हुँदैन । क्यासका लागि बक्यौता उठाउनुप¥यो !
० दुई कार्यकालमा गर्न चाहेर पनि नपाउनुभएका कामचाहिँ के–के हुन् ?
– प्राधिकरणको शेयर जनतामा लैजान प्रयास गरियो तर दुई–तीन वर्षदेखि जति गर्दा पनि पनि सफल हुन सकिएन । शेयरको पैसाले हाइड्रोपावर बनाऔं भनेका हौं । विद्युत् प्राधिकरणको सुधारका लागि ऐन ड्राफ्ट भएर संसदमा विचाराधीन छ । पिपिए (पावर प्रोजेक्ट एग्रिमेन्ट) को नयाँ ऐन नआउँदा कतिपय काम गर्न सकिएको छैन । प्राधिकरणलाई डिजिटल बनाउनुपर्छ ।
० मन्त्रीसँग ट्युनिङचाहिँ किन मिलेन ?
‑ उहाँको इन्ट्रेस्ट पूरा गर्न सकिनँ । विद्युत् प्राधिकरणलाई जसरी जोगाउन खोजेको थिएँ त्यो उहाँहरूलाई मन परेन । उहाँहरूले एकै सटमा कोल्याप्स गर्न दिँदैन भनेर हटाउनतिर जोड गर्नुभयो । नाफा छैन भन्नुको अर्थ के हो ? यसको असर के पर्छ ?
० लाइसेन्स ओगट्नका लागि जलमाफियाले कसरी खेल्छन् ?
– सबै क्षेत्रमा त्यस प्रकारको चलखेल गर्न खोज्नेहरू हुन्छन् । त्यसलाई रोक्ने, काम गर्न नदिनेहरू हुन्छन् । मैले आफ्नो स्ट्याण्ड छाडिन ।
० भारतसँग पिपिए खुलाउने निर्णयलाई कसरी लिनुहुन्छ ?
‑ पिपिए गर्दा फ्रिली वा पारदर्शी ढंगबाट गरिन्छ वा अर्काे तरिका अपनाइन्छ त्यसमा धेरै कुरा निर्भर गर्छ । गलत हिसाबले सम्झौता गर्नु भएन । मैले पहिला ८ रुपैयाँ प्रतियुनिट गर्न खोजेको हो । अहिले १० रुपैयाँमा पनि पाइएन भनिँदै छ । बक्यौता नतिर्नेका हकमा लाइन काट्नुपर्छ भन्दा मलाई हटाइएको हो ।
० अब राजनीतिमा आउने हो ?
– आजसम्मको अनुभवलाई समेटेर देशमै काम गर्ने हो । मेरो योग्यता, विज्ञता देशका लागि प्रयोग गर्छु । यही क्षेत्रमा लाग्छु ।
टिप्पणीहरू