पूर्वराष्ट्रपतिको टोलीमा परस्परविरोधी दुई नेता
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी साताव्यापी भ्रमणका लागि चीन पुग्नुभएको छ । उहाँ १४ जनाको टोलीसहित राति काठमाडौंबाट चीनको ग्वाङ्झौ हुँदै बेइजिङ प्रस्थान गर्नुभएको हो ।
चिनियाँ कम्युनिष्ट पार्टी र चीन सरकारको निमन्त्रणमा गएको टोलीमा उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, एमाले सचिव तथा विदेश विभाग प्रमुख रघुवीर महासेठ, स्थायी कमिटी सदस्य कर्ण थापा, सांसद देवी भट्टचन, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष महेन्द्रविष्टलगायत छन् ।
पूर्व राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सि चिनफिङलगायत नेताहरुसँग भेटवार्ता गर्ने तालिका छ । राष्ट्रपति हुँदा पनि चीन भ्रमणमा जानुभएको उहाँ शीतल निवासबाट बाहिरिएपछिको यो पहिलो विदेश भ्रमण हो ।
भ्रमणमा एकजना बहालरत वरिष्ठ मन्त्री लैजाने पूर्वराष्ट्रपति भण्डारीको चाहना बुझेपछि प्रधानमन्त्रीले उद्योगमन्त्री भण्डारीलाई समावेश गरिदिएकाले आन्तरिक समीकरण परिवर्तन भएको थियो । टोलीमा महासेठ पनि भएकाले पूर्व राष्ट्रपतिले चाहेको वरिष्ठ मन्त्री लैजान नमिलेपछि उद्योगमन्त्री दोस्रो रोजाइमा परेका हुन् ।
यता बाजुराका स्थायी समिति सदस्य कर्ण थापा र बैतडीका केन्द्रीय सदस्य भण्डारीबीच भेगीय राजनीतिमा कटाक्षको अवस्था छ । हुनतः उनीहरु दुबैजना पूर्व राष्ट्रपति भण्डारीले प्रमोट गरेका एमाले नेता हुन् । पछिल्लो पटक जिल्ला अधिवेशनलाई सम्बोधन गर्दा थापाले मन्त्री भण्डारीले ब्रम्हलुट गरेको आरोप लगाएका थिए ।
अहिले ती दुबै जना एउटा टोलीमा चीन पुगेका छन् । चीनले पनि उनीहरुलाई दुई छुट्टाछुट्टै कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम राखिएको बुझिएको छ । दामोदरले व्यापार सम्बन्धी एउटा कार्यक्रमलाई सम्बोधन गर्दैछन् ।
टिप्पणीहरू