मच्छिन्द्रनाथको रथ तान्न बिशेष तयारी

वैशाख १५ गते विधिवत् रथारोहण गरेर शुरु भएको रातो मछिन्द्रनाथको जात्रा जेठ १८ गते सम्पन्न हुँदैछ । मछिन्द्रनाथको मूर्तिलाई ललितपुरको तःबहालबाट खटमा राखेर पुल्चोकमा बनाइएको रथमा राखी शुरु गरिएको जात्रा १५ गते थटीटोलबाट जावलाखेलसम्म पुर्याइँदैछ ।
ज्योतिषबाट प्राप्त शुभ साइतमा उक्त दिन रथयात्रा सफलतापूर्वक सम्पन गर्न आज सरोकारवालाहरुको बैठक बसेको छ । दिउँसो जिल्ला प्रशासन कार्यालय ललितपुरमा बसेको बैठकले मछिन्द्रनाथ तथा मीननाथको रथायात्रालाई भव्यताका साथ सुसम्पन्न गर्ने निर्णय गरेको हो । त्यसनिम्ति कार्य विभाजनसमेत गरिएको छ ।
जसअनुसार रथ गुड्ने बाटोमा रहेका खाल्डाखुल्डी पुर्ने र बिग्रेको सडक मर्मत सम्भार गर्ने जिम्मेवारी डिभिजन सडक कार्यालयलाई दिइएको छ । १५ गते अगावै उक्त काम कार्यालयले सम्पन्न गरिसक्नुपर्नेछ ।
हरेक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म चल्ने यो जात्रा देशकै लामो रथ जात्रा हो । यो जात्रा असार चौथीमा राष्ट्र प्रमुखबाट भोटो देखाएर विधिवत रुपमा समापन हुने गर्छ
त्यसैगरी यात्रा मार्गमा पर्ने मन्दिरको बाटोमा पर्ने बिजुली,इन्टरनेट तथा केबुलका तार हटाई रथलाई सहजरुपमा तोकिएको स्थानसम्म पुर्याउन ललितपुर महानगरपालिका र नेपाल विद्युत प्राधिकरण पुल्चोक र लगनखेल शाखालाई जिम्मा दिइएको छ । यसको थप समन्वय गुठी संस्थानले गर्ने निर्णय छ ।
रथ निर्माण तथा यात्राको क्रममा घाइते भएकालाई आर्थिक सहायता उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको 'बास्केट फण्ड' लाई साविकको व्यवस्थाबमोजिम परिचालन गरिने छ । गुठी शाखा ललितपुरका प्रमुख जितेन्द्र चित्रकार र ज्यापु समाजका अध्यक्ष सन्तमान महर्जनको संयुक्त हस्ताक्षरबाट खाता सञ्चालन गराउने निर्णय आजैको बैठकले गरेको छ ।
सिडिओ रमेश ढकालको अध्यक्षतामा बसेको बैठकमा ललितपुर प्रहरी परिसरका प्रमुख बरिष्ठ उपरीक्षक श्यामकृष्ण अधिकारी,राष्ट्रिय अनुसन्धान विभागका प्रमुख रमेशचन्द्र यादव, सशस्त्र प्रहरी बल २१ नम्बर गणका गणपति राजेश लामिछाने,नेपाली सेनाका प्रतिनिधि,गुठी संस्थान ललितपुरका प्रमुख चित्रकार र ज्यापू समाजका अध्यक्ष महर्जनको उपस्थिति थियो ।
हरेक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म चल्ने यो जात्रा देशकै लामो रथ जात्रा हो । यो जात्रा असार चौथीमा राष्ट्र प्रमुखबाट भोटो देखाएर विधिवत रुपमा समापन हुने गर्छ । भोटो देखाउने परम्परामा भएकोले यसलाई भोटो जात्रा पनि भन्ने गरिन्छ ।
टिप्पणीहरू