नेपाल न हो, के भर छ र
नेपालको सुरक्षा निकायले हालै एउटा अन्तर्राष्ट्रिय बैठकमा सहभागिता जनायो । भेला हातहतियारमा प्रयोग हुने जैविक, पारमाणविक, रासायनिक र भौतिक तत्व तथा वस्तुको ओसारपसारलाई नियन्त्रण गर्ने विषयमाथि केन्द्रित थियो । यसमा त्यस्ता वस्तुको उत्पादन, भण्डारण र ओसारपसारलाई ट्र्याकिङ गर्ने तरिका र सो सन्दर्भमा ध्यान दिनुपर्ने विषयमाथि विश्वभरिका सुरक्षा प्रतिनिधिले गम्भीर छलफल गरे ।
जोर्डनको राजधानी अम्मानमा मे ५ देखि ८ तारिखसम्म आयोजित त्यस्तो बैठकमा नेपालले समेत किन सहभागिता जनाउनुपर्यो भने यदि यस्ता वस्तु गलत मानिसको हातमा पर्यो वा अर्कै बाटो प्रयोग गरेर चुहावट भयो भने निकै ठूलो सुरक्षा चिन्ता थपिन सक्छ । अहिले अफ्रिकी मुलुकमा यसको बढी प्रयोग हुने भए पनि प्रत्येक देशले आफ्नो कानुनको अधीनमा रहेर यस्ता वस्तुमाथि नियन्त्रण गर्नुपर्छ भन्नेबारे गम्भीरतापूर्वक छलफल भएको प्रहरी महानिरीक्षक दीपक थापाले जानकारी दिए ।
त्यसो त नेपालमा ०७९ मै जारी रासायनिक पदार्थ नियमन गर्ने ऐनले बैठकमा उठान भएका सबै विषयवस्तुलाई संबोधन गर्न सक्दैन । हाल गृह मन्त्रालयले त्यस्ता रसायन आयात र ओसारपसारका निम्ति अनुमति त दिन्छ तर त्यसलाई अनुगमन गर्ने निकाय किटान छैन । प्रहरीले नै अनुगमन तथा सुपरिवेक्षण गरिरहेको छ । हातहतियार निर्माण मात्र होइन, औषधि उत्पादक तथा चिनी मिलले समेत यस्ता रसायन आयात गर्नुपर्ने हुन्छ । चिनी उद्योगले सल्फरिक एसिड ल्याउँछ । त्यसको अनुगमन र त्यस्ता रसायन बाहिर जान नदिने कुराको निगरानी गर्ने कसले त ? कुनै प्रष्टता छैन ।
धेरैजस्तो त्यस्ता वस्तु रातो झण्डासहितका वाहनमा आउने गर्छन् । ‘रेड फ्ल्याग’ सहित आयातित वस्तु यदि कुनै प्रकारको दुर्घटनाका कारण चुहावट भयो भने स्थानीय समुदायका लागि निकैे घातक हुन सक्छ । त्यसैले यस्ता वस्तुको नियमन र सुपरिवेक्षण अत्यन्तै महत्वपूर्ण विषय रहेको सेनाका एक अधिकारीले बताए ।
केही वर्षअघि जापानको भूमिगत रेल मार्गमा त्यस्तै प्रकारको ग्यासमार्फत आक्रमण गरिएको थियो । अफ्रिकन मुलुकमा यस्ता वस्तुको प्रयोग व्यापक मात्रामा हुने गर्दछ । पछिल्लो एउटा चर्चित उदाहरणको रुपमा उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनका सौतेनी दाइ किम जोङनामका हत्या गर्न २०१७ फेब्रुअरी १३ मा मलेसिया एयरपोर्टमा यस्तै खाले घातक विष प्रयोग गरिएको थियो । नेपालमा अहिलेसम्म त्यस्ता वस्तुको दुरुपयोग नभए पनि सचेत रहनुपर्ने अवस्था टड्कारो छ । तर, नेपालको कमजोर सुरक्षा प्रबन्धबारे चिन्ता व्यक्त गर्दै एक सुरक्षाविद्ले टिप्पणी गरे, ‘कछुवा र चिम्पान्जीजस्ता सजीव वस्तु त यहाँ सहजै छिराउँछन् भने बायोकेमिकल र अरु बिस्फोटक त कसो नछिराउलान् अपराधीहरूले !’
सुरक्षा प्रबन्धकै कुरा गर्दा हालै भारत र पाकिस्तानबीच सम्बन्ध बिग्रेका बेला आतंकवादी भनिएका दुई जनालाई नेपालबाट पक्राउ गरी भारत पुर्याइएको सूचना प्राप्त भएको छ । नाम सार्वजनिक नगर्ने शर्तमा एक उच्च सुरक्षा अधिकारीले बताएअनुसार खालिस्तानी र कश्मिरा सिंह नामक दुई जनालाई यसरी भारत पु¥याइएको हो । प्रायः यस प्रकारका गतिविधिमा संलग्न हुँदै आएको विशेष ब्युरो सम्बद्ध स्रोतले यसपटक आफूहरू त्यसमा सहभागी नभएको जानकारी दिएको छ । उनीहरूलाई अघिल्लो हप्ता नै पक्राउ गरेर लगिएको गृह स्रोत बताउँछ ।
यसअघि पञ्जाब प्रहरीले खोजी गरिरहेको बाबा सिद्दिकीलाई पक्राउ गर्न अनधिकृत ढंगले नेपाल प्रवेश गरेको टोलीलाई नेपाल प्रहरीले पक्राउ गरी दूतावासमा बुझाएको थियो । आधिकारिक निकायलाई जानकारी नदिई उनीहरूलाई सहयोग गर्न लमजुङबाट डिएसपी सुशान्त श्रीवास्तव काठमाडौँ आएबापत उनलाई कारबाही गरिएपछि बल्ल सो घटना सार्वजनिक भएको हो ।
टिप्पणीहरू