किन दुःखी हुनु र कमरेड ?

किन दुःखी हुनु र कमरेड ?

‘मैले केही नलिएर साथीहरू पार्टी काममा लाग्छन् भने, सबै चिज छोड्न तयार छु ।’ बैठकको शुरुमै जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठले यसो भन्दा सिन्धुपाल्चोक जिल्ला कमिटीको बैठक हलमा सन्नाटा छाएको थियो । १३३ दिनपछि बसेको चौथो पूर्ण बैठकमा होमनारायणले यसो भन्नुको मुख्य कारणचाहिँ सचिवालय निर्माण र कार्यविभाजन रहेछ । त्यो कुरा सहभागीहरूले बैठक सकिने बेलामा थाहा पाएका थिए ।

एमालेका कमिटीहरू कति लथालिंग भन्ने उदाहरण सोही जिल्ला कमिटीलाई हेरे पुछ । अधिवेशन सकिएको १३ महिना बित्न लाग्दा बल्लतल्ल सचिवालय निर्माण गरिएको छ । ९९ जनाको कमिटीमा लगभग ८० जना उपस्थित थिए । पालिका अध्यक्ष र केही जिल्ला सदस्यले मात्र रिपोर्टिङ गरेका थिए ।

यस पटक खासै चर्काचर्की भएन । अघिल्लो दिनदेखि नै कार्यविभाजन मिलाउन पदाधिकारीहरू चौतारामा जुटेका थिए । अघिल्लो रात अध्यक्ष र सचिव रातभर नसुतेर कार्य विभाजन र मनोनीत नाम टुंग्याएका थिए ।

विशेष गरी संगठन विभागचाहिँ होमनारायणले छोड्न मानिरहेका थिएनन् । उनले निवर्तमान अध्यक्ष कमल नेपालले पनि संगठन विभाग आफैँसँग राखेको नजिर देखाउँदै अड्डी कसेका थिए तर प्याकेजमै सहमति जुटेकाले छाड्न बाध्य भए । 

उनले बैठकको शुरुमै ‘मैले केही नलिएर साथी काम छाड्न तयार छु’ भन्नुको मुख्य कारण नै यही हो, एक पदाधिकारीले भने । बैठक सकिएपछि कमिटीले गति लिएको भन्दै प्रमुख अतिथि राजन भट्टराई र शेरबहादुर तामाङ उत्साहित भएका थिए । 

निबार सम्पन्न बैठकले २२ जना मनोनीत गरेसँगै अब १२१ सदस्यीय कमिटी भएको छ । ३२ सदस्यीय सचिवालयसमेत गठन भएको छ । त्यस्तै, २७ विभाग गठन गरिएको छ । सचिव कृष्णगोपाल तामाङ संगठन विभाग, उपाध्यक्ष अर्जुन भण्डारी प्रचार, उपसचिवद्वय सुशीला पाख्रिन र शिवहरि सापकोटाले क्रमशः स्थानीय तह र स्कूल विभागको प्रमुखको जिम्मेवारी पाएका छन् ।

जिल्ला सदस्य आङदोर्जे शेर्पालाई वित्त तथा कोष विभागको जिम्मेवारी दिइएको छ । क्षेत्रीय समन्वय कमिटीको इञ्चार्जतर्फ १ प्रेमलाल लामा र २ विष्णुमणि आचार्यले पाएका छन् । प्रदेश १ ‘क’ अमृत खड्का, ‘ख’ चरीबहादुर तामाङ, २ ‘क’ राजन आचार्य र ‘ख’मा निर्मल बञ्जाराले इञ्चार्जको भूमिका निभाउनेछन् ।
 

टिप्पणीहरू