बालेनका विश्वासपात्रसँग स्पष्टीकरण, चित्त नबुझे कारबाही
काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहका ‘दाहिने हात’ मानिने नगर प्रहरी प्रमुख राजु पाण्डेलाई स्पष्टीकरण सोधिएको छ । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले हिजो लेखेको स्पष्टीकरण पत्र पाण्डेले आज बुझेका हुन् ।
गत चैत तेस्रो साता गुरागाईँ कार्यालयमा हाजिर हुन जाँदा मेयर बालेनको आदेशमा पाण्डे नेतृत्वको नगर प्रहरीको टोलीले अवरोध गरेको थियो । त्यतिबेला उपमेयर सुनिता डंगोल, अन्य जनप्रतिनिधि र महानगरका कर्मचारीले घेरा हालेर गुरागाईंलाई कार्यकक्षमा प्रवेश गराएका थिए । सोही विषयमा अधिकृत गुरागाईंले नगर प्रहरी प्रमुख पाण्डेलाई सात दिनभित्र स्पष्टीकरण दिन पत्र लेखेको बताइन्छ ।
महानगरका एक जना कर्मचारी भन्छन्, ‘नगर प्रहरी परिचालन गर्ने कानुनी अधिकार त सरोज सरलाई नै हो । तर अस्ति जुन घटना भयो, त्यसमा मेयर साप नियमविपरित हाबी हुनुभयो । यो राम्रो भएन भनेर उपमेयरज्यूले हौसला दिएपछि स्पष्टीकरण सोधिएको हो ।’
पत्रमा पाण्डेलाई चित्त बुझ्दो जवाफ नदिए कारबाही गरिने उल्लेख छ ।


टिप्पणीहरू