तीन दिनअघि नै थियो रसुवागढीबाट सुन आउँदै गरेको सुराक
उत्तरी नाका रसुवागढीबाट प्रहरीले आज अपराह्न सात किलो ६५३ ग्राम अवैध सुनसहित एक जनालाई नियन्त्रणमा लियो । स्याउ बोक्ने कन्टेनर (डिब्बा) मा ड्राइभर सिटको छेउमा फल्स बटम बनाएर ल्याउँदै गरेको अवस्थामा गोसाइकुण्ड गाउँपालिका- २ बाट प्रहरीले उक्त सुन बरामद गरेको हो ।
रसुवागढी नाकाबाट अवैधरुपमा साढे ७ किलो सुन आउँदै गरेको सुराक तीन दिनअघि नै पाएको भन्सार कार्यालय स्रोतले बताएको छ । सुन तस्करी हुन लागेको गोप्य सूचना पाएपछि कार्यालयले सुरक्षा चेकजाँच बढाएको थियो । भन्सारका कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले आपसी समन्वयमा फल्स बटम बनाइएका गाडीमाथि निगरानी गरिरहेका थिए ।
‘हामीलाई यस्ता सूचना आइरहेका हुन्छन्, तर सबै सत्य हुँदैन’, भन्सार स्रोत भन्छ, ‘तीन दिनअघि आएको सूचनामा चाहिँ हामी ढुक्क थियौँ, कस्तो सामान बोकेको गाडी हो भन्नेमा पक्का नभए पनि फल्स बटमको लोकेशनबारे हामी कन्फर्म थियौँ ।’
सूचनामा दावी गरिएझैँ ड्राइभर सिटको छेउ (तलपट्टी) मा फल्स बटम बनाइएको देखेपछि गाडी पहिचान गर्न सजिलो भएको प्रहरीले बताएको छ । प्रहरी निरीक्षक कृष्ण धिताल नेतृत्वको टोलीले उक्त फल्स बटमबाट सुन निकालेको थियो ।
जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख डिएसपी हेमबहादुर शाहीले स्याउ बोकेर आउँदै गरेको ना ४ ख ६२०१ नम्बरको गाडी र चालक किशोर कुमार भुजेललाई नियन्त्रणमा लिएको जानकारी दिएका छन् ।
टिप्पणीहरू