विदेश जानेलाई सजिलो पारिदिने वचन
वैदेशिक रोजगारीलाई थप व्यवस्थित र मर्यादित बनाउन वैदेशिक रोजगार विभागले पाँच वटा समिति गठन गरेको छ । उपमहानिर्देशक चन्द्रबहादुर शिवाकोटीको मूल संयोजकत्वमा सम्बन्धित निर्देशकले नेतृत्व गर्नेगरी समिति बनेको आज पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा जनाइएको छ ।
सेवाग्राहीमैत्री कार्यढाँचा एवं शून्य सहनशीलताको नीति अवलम्बन गर्दै वैदेशिक रोजगारीका क्षेत्रमा व्यापक सुधार गर्दै लैजाने कार्ययोजना तय गरिएको छ । जसमा सेवा प्रवाहमा प्रवृत्ति र प्रविधिगत सुधार गर्ने,वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफईएमआईएस) अध्यावधिक गर्दै 'सोर्स कि' सरकार मातहत ल्याउने,उपत्यकाभित्रका संस्थाको नियमित र बाहिरको हकमा आकस्मिक अनुगमन गर्ने,प्राप्त उजुरीउपर तत्काल अनुगमनगरी कारबाही अघि बढाउने जस्ता विषय उल्लेख छ ।
त्यसैगरी, संस्थागत उजुरी फर्छ्यौट,राहत तथा उध्दार र क्षतिपूर्ति लगायतलाई समयानुकूल बनाउन छुट्टै निर्देशिका वा कार्यविधि तर्जुमा गरी लागू गर्ने, पीडित र पीडकबीच छलफलका लागि तोकिएको मिति र समयमा विभागमा उपस्थित जनाउन मोबाइल म्यासेजमार्फत जानकारी दिने, मुद्दा शाखाको अभिलेख प्रणालीलाई डिजिटलाइज्ड गरी एफईएमआई प्रणालीसँग आबद्ध गराउने, साइबर सुरक्षा नीति, एआई प्रणालीमा आन्तरिकीकरण गर्न तत्काल कार्ययोजना बनाई लागू गर्ने विभागको तयारी छ ।
विभागले नागरिक एपलाई राष्ट्रिय परिचयपत्र (नेशनल आईडी) सँग आबद्ध गराउने, आन्तरिक प्रणालीलाई सुरक्षित र ह्याकरबाट बचाउने, सर्भर एवं नेटवर्कका उपकरण खरिदलगायत नयाँ प्लेटफर्ममा बिजनेश प्रोसेश रिइन्जिनियरिङ (बिपीआर)सहित एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीको विकास तथा सेवाग्राहीले पटकैपिच्छे आफ्नो विवरण भरिरहनुपर्ने बाध्यताको अन्त्य गर्नेसमेत प्रतिवद्धता जनाएको छ । योसँगै अबदेखि आवेदन दिएकै दिन श्रम स्वीकृति प्रदान गरिने विभागको भनाइ छ ।
‘प्रत्येक दिन हरेक युजरबाट भएको काम कारबाहीको प्रतिवेदन तयार गरी विश्लेषण गर्ने, प्रणाली सञ्चालकले स्वीकृति गरेका तथा अस्वीकृत गरेका आवेदनको विवरण विश्लेषण गरी पृष्ठपोषण प्राप्त गर्ने र अबको तीन दिनभित्रमा श्रम स्वीकृति सोही दिन दिने गरी कार्य गरिने छ,’ पत्रकार सम्मेलनपछि विभागद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
दश महिनामा पौने सात लाखले लिए श्रम स्वीकृति
चालु आर्थिक वर्ष २०८१–८२ को पछिल्लो दश महिनामा पौने सात लाखले श्रम स्वीकृति लिएको तथ्यांक विभागले सार्वजनिक गरेको छ । गत साउनदेखि वैशाख मसान्तसम्मको अवधिमा ६ लाख ८५ हजार ९२४ जनाले श्रम स्वीकृति लिएको विज्ञप्तिमा उल्लेख छ । जसमध्ये पुरुष ६ लाख ८८ हजार ३९ र महिला ७७ हजार ८५ जना रहेका छन् ।
गीका चार हजार बढी उजुरी, अलपत्र सयौंको उद्दार
विभागका अनुसार पछिल्लो दश महिनामा वैदेशिक रोजगारसँग सम्बन्धित ठगीका चार हजार बढी उजुरी परेका छन् । साउनयता चार हजार २९३ वटा उजुरी परेकोमा ३० करोड तीन लाख ८९ हजार ६७५ रुपैयाँ क्षतिपूर्ति मागदाबी गरिएको छ ।
त्यस्तै, ४६० वटा उजुरीमा मिलापत्र भएको विभागले जनाएको छ । यस अवधिमा एक सय ६६ वटा मुद्दा अदालतमा दायर गरेको र विदेशमा अलपत्र एक सय नेपालीको उद्दार गरेको जानकारी गराइएको छ ।
ताहाचलस्थित विभागको सभा हलमा भएको दिउँसोको पत्रकार सम्मेलनमा महानिर्देशक कमल भट्टराई, उपमहानिर्देशक चन्द्रबहादुर शिवकोटा, निर्देशक टिकाराम ढकाल, कानून तर्फका निर्देशक (सरकारी वकिल) भीमसेन काफ्लेलगायतले सञ्चारकर्मीको प्रश्न तथा जिज्ञासाको जवाफ दिएका थिए ।
टिप्पणीहरू