कोशी प्रदेशमा सुरक्षा चुनौती, पहिचानवादीपछि थपियो राजावादी

कोशी प्रदेशमा लागुऔषध, साइबर अपराध, तस्करी, अराजकता, आर्थिक अपराध, पहिचानवादी र राजावादीको आन्दोलन मुख्य चुनौती रहेको निष्कर्ष निकालिएको छ । प्रदेशको आन्तरिक मामिला मन्त्रालयले आयोजना गरेको प्रादेशिक सुरक्षा समीक्षा गोष्ठीमा सहभागीहरुले लागुऔषध, साइबर अपराध, तस्करी, प्राकृतिक स्रोतको अवैध कारोबारदेखि मिटरब्याज, लघुवित्त एवं सहकारी ठगी, चेक बाउन्सलगायतका आर्थिक अपराध, राजावादी र पहिचानवादीको आन्दोलन वर्तमान समयको मुख्य सुरक्षा चुनौती देखेको बताइन्छ ।
प्रदेशका १४ जिल्लाबाटै सिडिओ, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, राष्ट्रिय अनुसन्धान केन्द्र, नेपाली सेनाका अधिकारीलगायत सहभागी गोष्ठीमा समूहगत विश्लेषणपछि अपराध नियन्त्रणका मुख्य चुनौतीबारे छलफल भएको थियो । गोष्ठीमा सबै जिल्लाका संयुक्त सुरक्षा समितिले साझा एक्सन प्लान बनाएर अपराध नियन्त्रण गर्ने निर्णय लिइएको छ ।
सीमा सुरक्षा व्यवस्थापन, शरणार्थी समस्या, प्रहरी समायोजनमा ढिलाई, डढेलो र ठूला आगलागी नियन्त्रण, पुनःनामाङ्कनका लागि हुँदै आएका विरोध कार्यक्रम, अति हिन्दूवादी, संघीयता र गणतन्त्र खारेजी गराउन चाहने लोकतन्त्रविरोधी र पहिचानको नाममा भैरहेका अपराधहरु, विभिन्न आयोजनाहरुको मुआब्जाका लागि हुने आन्दोलनले अपराध नियन्त्रणमा चुनौती थपिएको प्रहरीको भनाइ छ ।
त्यसैगरी, भारत–चीन जोडने उत्तर दक्षिण राजमार्ग, मदनभण्डारी र मध्यपहाडी अनि तमोर करिडोरजस्ता राजमार्गहरुमा ट्राफिक व्यवस्थापनमा समस्या भएको, सवारी दुर्घटनादेखि आत्महत्या र असुरक्षित बालसुधार गृहले अपराध न्यूनीकरणमा समस्या भएको विषय गोष्ठीमा राखिएको थियो ।
यसबाहेक साँघुरा कारागार, भौतिक पूर्वाधार र दक्ष जनशक्तिको कमीलगायतका समस्याहरु सुरक्षाकर्मीले सुनाएका छन् । यता, मन्त्रालयले भने सामाजिक सञ्जालको दुरुपयोग, बसाइँसराइँ, दुर्घटनामा बिरामीको मृत्यु, स्थानीय पालिका र विद्यालयहरुको असन्तुष्टिले अपराध बढेको बताएको छ ।
हिजो आयोजित सुरक्षा गोष्ठीमा गृहमन्त्री रमेश लेखक, प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्की, आन्तरिक मामिलामन्त्री रेवतीरमण भण्डारी, गृहसचिव गोकर्णमणि दवाडी, नेपाल प्रहरीका महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापालगायतको सहभागिता थियो ।
गृहमन्त्रीले नेपाल–भारत सीमा क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रण नगरेमा मन्त्रालयले कठोर कारबाही गर्ने चेतावनी दिएको बताइन्छ । मन्त्रीको निश्कर्ष छ,‘सीमा क्षेत्र जोडिएका प्रदेशका तराईका जिल्लाहरु झापा, मोरङ र सुनसरी अनि पहाडको इलामबाट कानुनको बेवास्ता गर्दै खुल्ला रुपमा चोरी तस्करी हुँदै आएको छ । तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीले अलग्गै राजस्व गस्ती टोली, भन्सार कार्यालयले आफ्नै गस्ती टोली र नेपाल प्रहरीको ईलाका र चौकी अनि सशस्त्रको बिओपी र गुल्महरुले जिम्मेवारी पाएपनि ती क्षेत्रमा खुल्ला सीमानाको बहाना बनाउँदै नियमनकारी निकायमै मिलेमतोमा त्यस्ता कार्य हुँदै आएको छ ।’
भन्सार राजस्व चुहावट नियन्त्रण गर्न प्रमु्ख जिल्ला अधिकारीको नेतृत्वमा गठित समिति प्रभावहीन देखिएका छन् । अवैध रुपमा मिलेमतोमा चोरी तस्करी गर्नेहरुले सीमा क्षेत्रमा मालवस्तु वैध बनाउन नेपालतर्फका घरघरमा गोदाम सञ्चालन गर्ने गरिएको छ । चोरी तस्करी गर्नेहरुले आर्थिक अवस्था न्यून भएकाहरुसँगै महिला, बालबालिका र अपाङ्गता भएकाहरुलाई पनि भरियाका रुपमा प्रयोग गर्दै आएका छन् ।
पूर्वमुख्यमन्त्री केदार कार्कीको व्यङ्ग्य र आपत्ति
प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई प्रदेश सरकारले संघीय सरकारको युनिटजस्तै बनाएको भन्दै पूर्वमुख्यमन्त्री केदार कार्कीले आपत्ति जनाएका छन् । उनले प्रदेशस्तरीय सुरक्षा गोष्ठी आन्तरिक मामिलामन्त्रीको अध्यक्षतामा हुने परम्परा बसिसकेको भएपनि हिजो मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीयता कार्यान्वयनमा बेवास्ता गर्दा गृहसचिवको अध्यक्षतामा सुरक्षा गोष्ठी आयोजना भएको उल्लेख गरे ।
पूर्वमुख्यमन्त्री राजेन्द्र राईको कार्यकालमा आन्तरिक मामिलामन्त्री रहेका कार्कीले तत्काल आफूले नै संघीयता कार्यान्वयनका लागि सुरक्षा गोष्ठीको अध्यक्षता गरेको बताए । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘कोशी प्रदेशको सुरक्षा गोष्ठीमा प्रदेश सरकारको दास मनोवृत्ति र संघको सामन्ती व्यवहारको घोर आपत्ति जनाउँछु । प्रदेश सुरक्षा गोष्ठीको अध्यक्षता प्रदेश आन्तरिक मामिलामन्त्रीले गर्ने हो । यो अभ्यासपनि भैसकेको छ । प्रदेश सुरक्षा बैठक आन्तरिक मामिलामन्त्रीले गरिरहनुभएकै होला ।’
पूर्वमुख्यमन्त्री कार्कीले गृहमन्त्री लेखकले एक महिनाभित्र सीमा क्षेत्रबाट हुने तस्करी नियन्त्रण नगरे कारबाही गर्ने चेतावनीसहित सुरक्षाकर्मीहरुलाई दिएको निर्देशनको पनि उनले मजाक उडाएका छन् । अर्कोपटक फेसबुकमा समाचारको लिङ्क सेयर गर्दै उनले स्ट्याट्स लेखेका छन्,‘ हैट मजाक नगरेको भए हुने ।’
टिप्पणीहरू