मक्का-मदिना उड्नुअघि मन्त्रीको अगाडि खोप

मक्का-मदिना उड्नुअघि मन्त्रीको अगाडि खोप

साउदी अरबको मक्का-मदिनामा हज गर्न जाने नेपाली मुसलमानहरूलाई नि:शुल्क रोग प्रतिरोधात्मक खोप दिइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा आज पञ्चकाश्मिरी मस्जिदमा हज यात्रीलाई खोप लगाइएको हो । त्यसक्रममा मन्त्री पौडेलले विगतमा भन्दा यस वर्षको हज यात्रालाई व्यवस्थित बनाउने प्रयास गरिएको जानकारी दिए । 

मक्कामा हज गर्न जानु मुस्लिम समुदायको परम्परा रहेको उल्लेख गर्दै मन्त्रीले थप व्यवस्थित गर्न सरकार प्रतिवद्ध रहेको बताए । 

‘नेपाली मुस्लिम समुदायको परम्परागत विषय हो । यसलाई व्यवस्थित गर्ने हामीले प्रयत्न गरेका छौं । अहिले हज यात्रामा एक हजारभन्दा धेरै जना मक्का मदिना जाँदै हुुनुहुन्छ’, उनले भने, ‘तपाईहरु सबैलाई शुभकामना समेत दिन चाहन्छु । अगामी वर्षहरुमा यसलाई अझै धेरै व्यवस्थित गर्ने कार्य गर्नेछौं ।’

नेपाल हज यात्र समितिका अध्यक्ष इश्रा मुल्ला मियाँले नेपालमा हज हाउस नहुँदा समस्या भोग्नुपरेको भन्दै त्यसनिम्ति पहल गरिदिन सरकारको ध्यानाकर्षण गराएका छन् । हज हाउस नभएकै कारण कस्मिरी मस्जिदमा बस्नुपर्ने बाध्यता सुनाउँदै उनले अन्यथा अलपत्र पर्ने अवस्था रहेको बताए । 

स्वास्थ्यमन्त्री पौडेलसँग आग्रह गर्दै भने, ‘नेपालमा एउटा हज हाउस नभएको कारणले गर्दा हामी कस्मिरी मस्जिदमा बस्न बाध्य छौं । यदि कस्मिरी मस्जिद हुन्थेन भने नेपाली हज यात्रीहरु बाटोमै अलपत्र पर्ने अवस्था पनि मैले देखेको छु । अहिलेको सरकारले एउटा हज हाउसको लागि व्यवस्था गरिदियोस् भन्ने आग्रह पनि गर्न चाहन्छु ।’

यस पटक नेपालबाट एक हजार १७० जना हज यात्रामा जाँदैछन् ।

टिप्पणीहरू