दक्षिण कोरियामा अध्ययनका लागि एनओसी बन्द

दक्षिण कोरियामा अध्ययनका लागि एनओसी बन्द

सरकारले दक्षिण कोरियाका लागि अध्ययन अनुमति पत्र (एनओसी) स्थगित गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज दक्षिण कोरियामा डी टु र टी फो भिसामा अध्ययन गर्न जाने विद्यार्थीलाई एनओसी जारी गर्ने कार्य हाललाई स्थगित गरिएको जनाएको छ ।

त्यहाँ अध्ययनका निम्ति गएका विद्यार्थीहरु शुरुदेखि नै रोजगारीमा लाग्दा पढाईलाई निरन्तरता नदिने, पढाई समय कम भएका विश्वविद्यालयमा भर्ना हुने, पैसा कमाउने प्राथमिकताका साथ गएकोले काम पाउँदा मानसिक समस्या तथा डिप्रेसनमा पर्ने, कोरिया सरकारले कालोसूचीमा राखेका विश्वविद्यालयमा समेत नेपाली विद्यार्थी पठाउने गरेको पाइएपछि मन्त्रालयले एनओसी रोकेको जनाएको छ । 

कोरियामा अध्ययनका लागि दिइने एनओसीलाई व्यवस्थित एवम् नियमन गर्न कार्यदलसमेत गठन गरिएको छ । उक्त कार्यदलले अध्ययन गरेर प्रतिवेदन बुझाएपछि सोही सिफारिसका आधारमा थप निर्णय गर्ने मन्त्रालयको भनाइ छ । 

जारी विज्ञप्तिमा भनिएको छ, ‘कोरियामा अध्ययन गर्नका लागि प्रदान गर्ने वैदेशिक अध्ययन अनुमति पत्रलाई व्यवस्थित एवं नियमन गर्ने उपायहरुका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्न एक कार्यदल बनेको र उक्त कार्यदलको सिफारिसको आधारमा थप निर्णय गर्ने गरी दक्षिण कोरियामा डी टु र डी फो भिसामा अध्ययन गर्न जाने विद्यार्थीलाई एनओसी जारी गर्ने कार्य हाललाई स्थगित गरिएको व्यवहोरा मन्त्रालयको मिति २०८२–०१–२८ गतेको निर्णयअनुसार जानकारी गराइन्छ ।’

टिप्पणीहरू