ठूलो ठाउँमा बस्नेले यस्तो नभन्नु नि !

‘मलाई मधेशका बोक्सी उठाएर लखेटे पनि हुन्छ’ भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले स्त्रीद्वेषी भावना पोखे पनि ‘करुणा’को लोकार्पणमा तालीको पर्रा छुटाउनेको कुनै कमी नदेखिएको बेला प्रधानमन्त्री ओली धर्मपत्नी राधिका शाक्यले धुलिखेल पुगेर ‘जो–जो मान्छे आज केपी ओलीलाई गाली गर्न पाएँ भनी खुशी भइराख्नुभएको छ, आखिरमा उहाँहरूकै भविष्य अन्धकार हुन्छ । उहाँहरूले आफ्नै खुट्टामा बञ्चरो हान्दै हुनुहुन्छ र सन्तान–दरसन्तानको भविष्य अन्धकार बनाउँदै हुनुहुन्छ भन्ने मेरो निष्कर्ष छ भनिदिनुभयो ।
त्यसो त धामी–क्राँक्री र बोक्सीका कुरा पूरै अन्धविश्वासी हुन् । कोभिडताका अम्बाको पात चपाएर मुख कुल्ला गरे ठीक हुन्छ भन्दै जग हँसाउन उनको बेला–बेला आउने यस्तो अभिव्यक्तिले भित्रको कुण्ठालाई बाहिर ल्याएको राय मनोविमर्शकर्ताहरूले गरेका छन् ।
एक चिनियाँ नीति कथाअनुसार चित्र र नक्सा बनाउने सवालमा दुई चिजको बनाउन अत्यन्तै सजिलो हुन्छ, ती हुन् एउटा भूत र अर्को भगवानको । यो कसैले देखेको हुँदैन, त्यसैले जस्तो बनाए पनि हुन्छ । त्यो नीति कथाको अर्को पाटोमा जसले चित्र बनाउँछ उसले आफूलाई जे कुराले छोएको छ त्यो कुराको चित्र असाध्यै राम्रो बनाउने गर्छ भन्ने पाइन्छ । जस्तै, नेप्टेलाई चुच्चे नाकको समस्या हुँदा सुन्दर नाक बनाएजस्तै । शाक्य दम्पतीको पीडा सन्तान नहुँदाको पीडा छ, त्यही पीडाको अभिव्यक्ति स्वरूप ‘ओलीलाई जसले सराप्दा तिनीहरूको सन्तान–दरसन्तान नाश हुने’ भाष्य खडा गर्न लागिएको बताइन्छ । त्यसो त शाक्यले मलाई गोठालोको स्वास्नी हुन पाएकोमा गर्व छ भन्ने अभिव्यक्ति पनि दिएकी थिइन् ।
तर, देशको गोठालो हुनुपर्ने मान्छे आफ्ना कथित र स्वघोषित छोराछोरीका मात्रै गोठालो भएपछि नेप्सेको सूचकांक एकाएक खसेजस्तै लोकप्रियताको शिखरबाट ओली एकाएक तल ओर्लिएको दाबी गर्नेहरू पनि देखिन्छन् ।
टिप्पणीहरू