पारिवारिक कलहमा फसेको नाउपामा अर्को विवाद, रञ्जिता भन्छिन्- ‘ससुराको दिमाग ठीक छैन’

पारिवारिक कलहमा फसेको नाउपामा अर्को विवाद, रञ्जिता भन्छिन्- ‘ससुराको दिमाग ठीक छैन’

रेशम चौधरीले जेलबाटै गठन गरेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) पछिल्लो समय पारिवारिक कलहका कारण संकटमा पर्दै गएको चर्चा हुन थालेको छ । 

नाउपामा एकै परिवारका ३ जना मुख्य पदमा छन् । रेशम पार्टीको संरक्षक हुन् भने उनकी पत्नी रञ्जिता अध्यक्ष अनि बाबु लालवीर संघीय सांसद । यौटै छानोमुनि बस्ने ३ जना निर्णायक जिम्मेवारीमा रहेकाले पार्टी सुदृढ र एकतावद्ध हुनुपर्ने हो, तर नाउपामा भने ठिक उल्टो अवस्था छ । 

यसअघि रेशम र रञ्जिताबीच लामो समय आधिकारिकतासम्बन्धी विवादले पार्टीमा 'कुटाकुट' कै स्थिति निम्तिएको थियो । यी दुईको लफडा कतिसम्म भने सुदूरपश्चिम प्रदेशसभामा सांसदहरु दुई कित्तामा उभिँदा नाउपाले मुख्यमन्त्री खाने अवसर गुमायो । जोइ-पोइको कलह पूर्णरुपमा अन्त्य नहुँदै पछिल्लो पटक लालवीर पनि आरोप-प्रत्यारोपमा उत्रिन थालेका छन् । 

बैशाख १७ गते जनमत पार्टीसँग एकताको औपचारिक घोषणा गर्ने तरखर भइरहँदा प्रहरीले रेशमलाई एकाएक नियन्त्रणमा लिएर डिल्लीबजार कारागार पुर्याएको थियो । तर, सर्वोच्चको आदेश कार्यान्वयन गर्ने/गराउने व्यहोराको पत्र ‘फेक’ प्रमाणित भएपछि साढे पाँच घण्टापछि उनी रिहा भए । 

सर्वोच्चकै ‘सन्की’ शाखा अधिकृत मुख्य दोषी देखिए पनि प्रहरीमाथि नागरिकस्तरबाट अनेकौँ प्रश्न उठेको थियो । उक्त पृष्ठभूमि रेशमका बाबु लालवीरले पनि केही दिनअघि प्रनितिधिसभा बैठकमा रेशम पक्राउ प्रकरणमा सरकारको जवाफ माग गरेका थिए ।

‘जनमत पार्टीसँग एकता हुने दिनमै पक्राउ गरिनुले सरकारको नियतमाथि शंका उब्जिएको छ’, उनले भनेका थिए, ‘यसमा सरकारको धारणा के हो ? प्रधानमन्त्री र गृहमन्त्रीले जवाफ दिनुपर्छ ।’ 

त्यतिबेला सभामुख देवराज घिमिरेले गृहमन्त्री रमेश लेखकलाई जवाफ दिन रुलिङ गरेका थिए । तर, हिजो बैठक शुरु हुनुअघि अध्यक्ष रञ्जिताले नै गृहमन्त्रीलाई ‘जवाफ दिनु पर्दैन’ भन्दै रोकेको लालवीरको अरोप छ । 

त्यसो त, गृहमन्त्री लेखकले ‘फेक’ पत्र तयार पार्ने शाखा अधिकृतविरुद्ध तीन कसुरमा अनुसन्धान भइरहेको जानकारी दिदैँ प्रहरीको गलत नियत नरहेको जवाफ दिइसकेका छन् । तर, लालवीरले रञ्जिताकै षड्यन्त्रमा छोरा रेशमलाई पक्राउ गराइएको दावी गरेपछि कहानीमा ट्वीस्ट आएको छ । 

‘हामीले जवाफ माग गरेकोमा २५ गते गृहमन्त्रीज्यूले जवाफ दिने तयारीमा रहँदा अध्यक्षज्यूले नै जवाफ दिनु पर्दैन, मैले संरक्षकजयूसँग कुरा मिलाइसकेको छु भन्नु कस्तो खालको षड्यन्त्र हो ?’, लालवीरले भनेका छन्, ‘यसको जवाफ पार्टीका अध्यक्षज्यूले दिनुपर्छ, गृहमन्त्रीज्यूले जवाफ दिनु भएकोमा धन्यवाद ।’

उनको यस्तो दावीपछि पार्टीकै अर्का सांसद गंगाराम चौधरीसहित दर्जनौँ नेता र कार्यकर्ताले दोहोरो चरित्र देखाएको भन्दै रञ्जितामाथि आक्रोश पोखिरहेका छन् । सांसद चौधरीले रञ्जितालाई तत्काल जवाफ दिन भनेका छन् । अन्य नेताहरुले ‘आफै बोक्सी, आफै धामी’ भन्दै चर्को आलोचना गरिरहेको देखिन्छ । 

के भन्छिन् रञ्जिता ? 

लालवीरले सामाजिक सञ्जालमार्फत् खुलेयाम आरोप लगाएपछि जनआस्थाले रञ्जितालाई सम्पर्क गरेर सोधेको छ, ‘तपाईको ससुराले गरेको दावी सत्य हो ?’ जवाफमा उनले ‘कपोकल्पित प्रचार’ भनिन् । 

लालवीर केही समयदेखि विरामी रहेको र औषधी प्रयोग गर्दै आएको कारण मस्तिष्कमा असर पुगेको हुनसक्ने उनको तर्क छ । ‘मेरो ससुरा वा पार्टीको सांसद, जे भए पनि उहाँले लगाएको आरोपमा कुनै सत्यता छैन’,  रञ्जिताले भनिन्, ‘पछिल्लो समय औषधि खाइरहनुभएको छ, त्यसको असरले फेसबुकमा लेख्नुभएको होला ।’

पूर्व मन्त्रीसमेत रहेकी रञ्जिताले हिजो सदन सुरु हुनुअघि गृहमन्त्री लेखकसँग छोटो कुराकानी भएको चाहिँ स्वीकार गरिन् । ‘एकछिन भेट भएकै हो, मैले त झन् हाम्रो प्रश्नको जवाफ दिन नछुटाउनु होला नि भनेर सम्झाएको थिएँ, रेशमजीलाई छुटाउन म आफै लागेको थिएँ, मैले किन जवाफ दिन रोक्नु नि !’ उनले थपिन् । 

‘उसोभए तपाईको सुसुराले लगाएको आरोप मिथ्या हो त ?’ भन्ने प्रश्नमा उनले दोहार्याइन्, ‘भनिसकेँ, उहाँ विरामी हुनुहुन्छ, औषधी प्रयोग गर्नुहुन्छ, त्यसको असर होला ।’

कार्यकर्तामा चिन्ता

रेशम र रञ्जिताबीच द्वन्द्व सुरु भएको ०८० पुषमा सम्पन्न पहिलो अधिवेशनबाटै हो । त्यतिबेला रेशमले आफूलाई नै अध्यक्ष घोषणा गरेपछि रञ्जिता चिढिएर अधिवेशनस्थल (कैलाली)बाट काठमाडौँ फर्किएकी थिइन् । जबकि उता बन्द सत्र चलिरहेको थियो । पछि निर्वाचन आयोगले रेशमलाई वैधानिक दिन नमानेपछि रञ्‍जिता नै अध्यक्षमा दोहोरिइन् । 

पार्टी नेतृत्व हत्याउने योजनाअन्तर्गत चलेको एक वर्षदेखिको किचलो जनमत पार्टीसँग एकता घोषणाको तयारीसम्म आइपुग्दा केही शान्त देखिएको थियो । यद्यपि जनमतसँग एकताका लागि दुई महिनादेखि चलिरहेको गृहकार्यमा रञ्जिताको असन्तुष्टिले पति-पत्नीबीचको विवाद अन्त्य नभएको बुझिन्थ्यो । 

स्रोतका अनुसार एकतापछि बन्ने पार्टीमा रञ्जिता अध्यक्ष बन्न चाहन्थिन् । त्यो सम्भव नभएको खण्डमा दुई अध्यक्ष्यात्मक प्रणालीमा जाने अनि सिके र आफू अध्यक्ष हुने उनको योजना थियो । तर, रेशम संरक्षक, राउत अध्यक्ष र रञ्जिता सहअध्यक्ष रहने गरी कार्यदलले मस्यौदा तयार पारेपछि उनको चाहना पूरा हुने अवस्था रहेन । त्यसपछि उनी पार्टी एकताप्रति नै अनुदार देखिएको रेशम निकट नाउपाका एक केन्द्रीय सदस्यले बताए ।  

यसरी पति-पत्नीको झगडापछि ससुरा-बुहारीको द्वन्द्व सतहमा आएपछि कार्यकर्तापंक्ति चिन्तित छ । ‘पार्टी एकीकरण किन हुन सकेन ?’, धनबहादुर चौधरी भन्छन्, ‘कहि न कहि भित्रबाटै समस्या भएको देखियो ।’

दिनेश धामीले पनि छोरा-ससुरा-बुहारीको कारण जनमत पार्टीसँग एकता हुन नसकेको टिप्पणी गरेका छन् । उनको आरोप छ, ‘सबै पार्टी अध्यक्षको डिजाइनमा भएको हो । जवाफ दिए पनि भयो, नदिए पनि भयो ।’

टिप्पणीहरू