आइतबार अदालत नकुर्दै भोलि नै भटाभट नियुक्ति ?

संक्रमणकालीन न्याय (टिआरसी) सम्बन्धी दुई आयोगमा पदाधिकारी नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
दुवै आयोगमा पदाधिकारी नियुक्तिका लागि नाम सिफारिस समितिले संक्षिप्त सूचीमा परेका ३४ जनाको आज अन्तर्वार्ता र प्रस्तुतीकरण गरेको छ । २ अध्यक्षका लगि ८ र ८ सदस्यका लागि २६ जना संक्षिप्त सूचीमा परेका थिए । यिनीहरुमध्येबाट भोलि साँझसम्म १० जनाको नाम सिफारिस गर्ने तयारी छ ।
आयोगको पदाधिकारीका लागि सयभन्दा बढी आवेदन परेको थियो । जसमध्ये सत्य निरुपण आयोगको अध्यक्ष र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग सदस्यमा आवेदन दिई सर्ट लिस्टमा पर्नेमा अग्निप्रसाद थपलिया,अच्युतप्रसाद भण्डारी, डिल्लीराज आचार्य,विजयसिंह सिजापति,विश्वराज कोइराला छन् ।
सत्य निरुपण आयोगको अध्यक्षका लागि आवेदन दिएका महेश थापा, लीलादेवी गडतौला,शेरबहादुर केसीको नाम सर्ट लिस्टमा परेका थिए । दुवै आयोगको सदस्यमा दरखास्त दिएर संक्षिप्त सूचीमा पर्नेमा कविता पाँडे, कुमारी कौशल्या ओझा,कुलप्रसाद शर्मा, गोपालनाथ योगी,गोपालप्रसाद लम्साल, नरेन्द्रकुमार केसी, नागेन्द्रलाल कर्ण, ब्रहमदेव राय यादव, डा.श्री मानबहादुर विश्वकर्मा, रामकुमार आचार्य, रामकान्त तिवारी, रेश्मा थापा, विनिता नेपाली, श्रृजना पोखरेल, सुबोधराज प्याकुरेल र प्रा.डा.हेमराज सुवेदी छन् ।
कृष्णप्रसाद पौडेल,कृष्णप्रसाद सुवेदी, टीकाप्रसाद ढकाल, नवलकिशोर यादव, राजुप्रसाद चापागाई, विनोद मोहन आचार्य, वीरेन्द्रप्रसाद थपलिया, शोभाकर बुढाथोकी सत्य निरुपण आयोगको सदस्यका लागि ३४ भित्र परेका थिए ।
सिफारिस समितिको संक्षिप्त सूचीप्रति सरोकारवालाहरुले भने असन्तुष्टि जनाएका छन् । सत्तारुढ नेपाली कांग्रेस र एमालेले आपसमा भागबण्डा गरेर आफ्ना कार्यकर्तालाई टिआरसी आयोगमा लैजाने योजनाका साथ नाम तयार गरेको भन्दै द्वन्द्वपीडित र युद्धको एउटा पक्ष माओवादी केन्द्रले आपत्ति जनाएको छ ।
अर्कोतिर टिआरसी विधेयकविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले पदाधिकारी नियुक्ति प्रक्रिया थप विवादमा पर्नसक्ने सम्भावना पनि उत्तिकै छ । अधिवक्ताद्वय ज्ञान बस्नेत र श्यामकृष्ण मास्केले दायर गरेको रिटको म्याद तामेल बाँकी रहेको र आइतबार पेसी तोकिएको बताइएको छ ।
टिप्पणीहरू