वित्त आयोगका पदाधिकारीहरुविरुद्ध उजुरी, दर्ता गर्न आनाकानी
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका पदाधिकारीहरुविरुद्ध प्रतिनिधि सभाको दुई वटा समितिमा उजुरी परेको छ । उनीहरुविरुद्ध अर्थ समिति र राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको हो । एक साताअघि परेको उजुरी सुशासन समितिले अर्थ समिति पठाइदिएको छ । आफ्नो क्षेत्राधिकार नपर्ने नभएकाले उजुरी अर्थ समिति पठाइएको समितिको सचिवालयमा कार्यरत एक कर्मचारीले बताए ।
‘वित्त आयोगको विषय अर्थ समितिले हेर्ने भएकाले त्यतै पठाइदिएका छौं’,उनले भने । अर्थ समितिले भने उजुरी दर्ता गर्न आलटाल गरिरहेको अवस्था छ । समितिले नियतबस् उजुरी दर्ता गर्न आनाकानी गरेको स्रोत बताउँछ । ‘उजुरी परेको एक साता बितिसकेको छ । तर, अहिलेसम्म पनि दर्ता गरिएको छैन् । यसले समितिको नियतमाथि प्रश्न उठेको छ’,स्रोतले भन्यो ।
अर्थ समितिका सभापति सन्तोष चालिसेले उजुरी आएको विषयमा जानकारी नभएको बताए । जनआस्थासँग उनले भने,‘दिनमा तिसौं वटा उजुरी परेको हुन्छ । त्यसमध्ये कुन–कुन उजुरी दर्ता भयो ? भन्नेबारे मलाई थाहा हुँदैन् ।’
समितिको उपसचिव प्रदीप गुरागाईँले उजुरी आएको जानकारी दिए । अध्ययनकै क्रममा रहेकाले उजुरी दर्ता हुन समय लागेको उनको भनाइ छ । छलफलमा नआएसम्म उजुरीको विषयमा केही भन्न नमिल्ने उनी बताउँछन् । ‘उजुरी आएकोजस्तो लागेको छ तर दर्ता भइसकेको छैन् । छलफलमा नआएसम्म त्यसबारे केही बोल्न मिल्दैन्’,उनले भने ।
वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल आफ्नो ६ वर्षे कार्यकाल सकाएर गत चैत ६ गते घर गएका छन् । हाल आयोग योग्यतामाथि प्रश्न उठेका सदस्यहरु जुध्दबहादुर गुरुङ्ग र विपिनराज निरौलाले चलाइरहेका छन् । उनीहरुको शैक्षिक योग्यताको विषयलाई लिएर सर्वोच्च अदालतमा दायर मुद्दा विचाराधीन छ । आयोगमा भएको बेतिथिको विषयलाई लिएर जनआस्थाले यसअघि पटकपटक समाचार प्रकाशित गरिसकेको छ ।
‘अध्यक्षको बिदाई, अयोग्यको हातमा आयोग’,‘बेतिथिको दलदलमा वित्त आयोग, सरोकारवाला मुकदर्शक’,‘सुटुक्क विदेश जाँदा मन्त्री पद जाने, यिनलाई चाँहि केही नहुने ?’,‘वित्तिय समानीकरण अनुदान बाँडफाँडः जसको शक्ति, उसको भक्ति’,‘सवारी कर बाँडफाँड, तथ्याङ्कमा खेलबाड’,‘सुशासनका लागि खडा, कुशासनको अखडा’,लगायतका शीर्षकमा समाचार प्रकाशित भएको छ ।
टिप्पणीहरू