पाकिस्तानमा भारतले हान्नुअगाडि काठमाडौंमा कडा सुरक्षा

पाकिस्तानमा भारतले हान्नुअगाडि काठमाडौंमा कडा सुरक्षा

भारतले गए रातिदेखि पाकिस्तानी भूमिमा आक्रमण गरेको छ । अपरेसन सिन्दूर नामक सैन्य कारबाहीका दौरान पाकिस्तानका नौ स्थानमा हवाई आक्रमण गरिएको भारतीय दावी छ । उता पाकिस्तानले भारतका पाँच वटा लडाकू विमान खसालिदिएको फोटो नै सार्वजनिक गरेको छ । आक्रमणमा भारतले ३० र पाकिस्तानले कम्तीमा आठ जना आफ्ना नागरिकको मृत्यु भएको बताएका छन् ।

गत अप्रिल २२ मा भारत–नियन्त्रित कश्मिरमा भएको आक्रमणमा २६ जना पर्यटकको ज्यान गएपछि भारतले उक्त घटनाको जिम्मेवार पाकिस्तानलाई ठहर्याएको छ । आजको आक्रमणपछि पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले भारतीय कारबाहीलाई युद्धको घोर उक्साहट भन्दै कडा निन्दा गरेका छन् । पाकिस्तानले जवाफी कारबाही गर्ने चेतावनी दिएको छ ।

यता नेपालमा पनि सुरक्षा सतर्कता अपनाइएको छ । परराष्ट्र मन्त्रालयले गत शुक्रबार गृह मन्त्रालयलाई पत्र लेख्दै सुरक्षा प्रबन्धको लागि अनुरोध गरेको थियो । परराष्ट्रको पत्रको हवाला दिँदै गृह स्रोत भन्छ, ‘अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै काठमाडौंस्थित पाकिस्तानी दूतावास, राजदूत निवास र दूतावासमा कार्यरत कूटनीतिज्ञहरुको सुरक्षा सतर्कताका लागि अनुरोध छ ।’

पाकिस्तानी दूतावासले पनि वैशाख १५ गते परराष्ट्र मन्त्रालयलाई आफ्नो सुरक्षा प्रबन्धको निम्ति लिखित अनुरोध गरेको बताइन्छ । परराष्ट्रले गृहलाई लेखेको पत्रको बोधार्थ प्रहरी प्रधान कार्यालयलाई समेत  दिएको छ ।
 

टिप्पणीहरू