रविन्द्र मिश्रलाई छुटाउन सडकमा ओर्लिने तयारी

रविन्द्र मिश्रलाई छुटाउन सडकमा ओर्लिने तयारी

तीनकुने प्रकरणमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई छुटाउन 'राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति' ले सरकारलाई दबाब दिने भएको छ । 

मिश्रको रिहाईका लागि सडक संघर्ष आवश्यक पर्ने निष्कर्षसहित आन्दोलनका कार्यक्रम र आगामी रणनीति तय गर्न समितिका संयोजक नवराज सुवेदीले बैठक डाकेका छन् । आज दिउँसो १ बजे सुकेधारस्थित नवदुर्गा पार्टी प्यालेसमा बस्नेगरी उनले बैठक बोलाएका हुन् । 

राजसंस्था पुर्नस्थापनाको एजेण्डासहित चैत ४ गते गठन भएको समितिका सदस्य सचिव मिश्र चैत १५ गतेदेखि काठमाडौँ प्रहरी परिसरको हिरासतमा छन् । आन्दोलनका जनकमाण्डर तोकिएका दुर्गा प्रसाई समूहले आयोजना गरेको प्रदर्शनमा भीड उक्साएर हिँसात्मक घटना घटाएको आरोपमा उनी सोही दिन साँझ पक्राउ परेका थिए । 

उनीसँगै समातिएका राप्रपाका महामन्त्री धवलशमशेर राणा भने हाजिर जमानीमा रिहा भइसकेका छन् । आज बस्न लागेको जनआन्दोलन समितिको बैठकले मिश्रलाई रिहा गराउन सरकारलाई दबाब दिने योजना बनाउन लागेको बताइन्छ ।

हिरासतभित्र रहेका मिश्रले आफूलाई रिहा गराउन पार्टी (राप्रपा)ले कुनै चासो नदेखाएको गुनासो पोखिरहँदा सुवेदी नेतृत्वको समिति नै कस्सिन लागेको हो । 

बैठकमा समितिका सल्लाहकार डा. जगमान गुरुङले आगामी संघर्षको बारेमा ब्रिफिङ गर्ने बताइएको छ ।
 

टिप्पणीहरू