गभर्नर नियुक्ति विवाद मुद्दामा दुई सातापछि सुनुवाइ
राष्ट्र बैंकको रिक्त गभर्नर नियुक्तिमा विवाद निकाल्दै दायर भएको मुद्दामाथि सुनुवाइ थालिएको छ । पहिले सरकारले तोकेको उमेरहदमा गरिएको संशोधन मुद्दा र वैशाख ५ गतेदेखि कार्यकारी निर्देशक गुणाकर भट्टको योग्यता नपुग्ने दाबीसहितको पूरक मुद्दा पेशमा चढेपनि कहिले हेर्न नमिल्ने र नभ्यानेमा पर्दै आएको थियो ।
आज न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको इजलास नम्बर ७ को पेसीमा परेको उक्त मुद्दामाथि श्रीमानहरुको खाजा समयपछि सुनुवाई भएको हो । अधिवक्तद्वय विशाल थापा र प्रतिभा उप्रेतीले अघिल्लो मुद्दा चैत ३१ मा सर्वोच्चमा दायर गरेका थिए । वैशाख २ गते न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले कारण देखाउ आदेश र अल्पकालीन अन्तरीम आदेश दिएको थियो ।
वैशाख ५ गते भट्टले बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएपछि उनलाई गभर्नर बनाउन लागिएको आशंकामा सोही दिन योग्यता नपुग्ने भन्दै पूरक निवेदन दर्ता गरिएको थियो । भट्टको राजीनामा कायममुकायम गभर्नर निलम ढुंगाना तिम्सिनाले आज १३ दिनसम्म पनि स्वीकृत गरेकी छैनन् ।
उनी आजै दिउँसोको उडानमा विराटनगर गएकी छन् । पर्सि दिउँसो राजधानी फर्केपछि आइतबार मात्रै कार्यालय हाजिर हुने कार्यसूची रहेको बताइन्छ । गभर्नरको दौडमा आफू स्वयम् भएकाले कार्यकारी निर्देशकले पदबाट राजीनामा दिएर आफूसँग प्रतिस्पर्धा गर्न खोजेको निलमको आरोप छ । चार वर्षअघि उनी वरिष्ठ कार्यकारी निर्देशकलाई पछाडि पार्दै डेपुटीमा उक्लिएकी थिइन् । अहिले उनैले वरिष्ठ र कनिष्ठको कुरो उठाउँदै आफूलाई गभर्नरको निम्ति सबैभन्दा योग्य उम्मेदवारको प्रचार गर्दै आएकी छन् ।
टिप्पणीहरू