रेशम चौधरीलाई आजै जेल हाल्नुपर्थ्यो ?

रेशम चौधरीलाई आजै जेल हाल्नुपर्थ्यो ?

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी दिउँसो करिब १२ बजेतिर जनमत पार्टीसँग एकता घोषणा कार्यक्रमको लागि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा पुगेका थिए । कार्यक्रमका लागि हल बुकिङ नभएको र कार्यकर्ता बाहिरै रोकिएको अवस्थामा उनी एकाएक प्रहरीको घेरामा परे । 

चौधरीलाई समात्न प्रज्ञा परिसरमा सादा पोशाकका ७ जना सुरक्षाकर्मी बिहानैदेखि परिचालित थिए । त्यसो त, प्रहरीले हिजो-अस्ति वा भोलि-पर्सि पनि पक्राउ गर्न सक्थ्यो । तर पार्टी एकता घोषणा कार्यक्रमकै दिन पारेर समात्नु योजनावद्ध थियो वा संयोग ? प्रहरी स्रोत भन्छ, ‘यो संयोग मात्रै हो, हामीले सर्वोच्चको आदेश कार्यान्वयनमा सहयोग मात्रै गरेका हौँ ।’

पार्टी एकता घोषणा कार्यक्रमकै दिन पारेर समात्नु योजनावद्ध थियो वा संयोग ? प्रहरी स्रोत भन्छ, ‘यो संयोग मात्रै हो, हामीले सर्वोच्चको आदेश कार्यान्वयनमा सहयोग मात्रै गरेका हौँ ।’


एक बालक र आठ सुरक्षाकर्मीको ज्यान जानेगरी २०७२ भदौ ७ गते भएको टिकापुर हत्याकाण्डमा चौधरीलाई मुख्य दोषी ठहर गर्दै सर्वोच्च अदालतले जन्मकैदको सजाय सुनाएको थियो । पाँच वर्ष तीन महिना कैद भुक्तान गरिसकेका उनी दुई वर्षअघि गणतन्त्र दिवसको अवसरमा आममाफी पाएर छुटेका थिए । 

तत्कालीन सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ०८० जेठ १५ गते आममाफी दिएपछि चौधरी रिहा भएका हुन् । तर,भोलिपल्टै पीडित शारदा कडायतले आममाफीविरुद्ध सर्वोच्चमा रिट हालेकी थिइन् । घटनामा ज्यान गुमाएका इन्सपेक्टर केशव बोहराकी श्रीमती शारदाले चौधरीलाई जेलमै राख्नुपर्ने मागसहित रिट दर्ता गराएकी थिइन् ।

अब चौधरीले बाँकी कैद (१४ वर्ष ९ महिना) भुक्तान गर्नेछन् । 

सोही रिटमा सर्वोच्चले अन्तिम फैसला नहुँदासम्म चौधरीलाई कारागारमै राख्न आदेश दिएको फैसला कार्यान्वयन निर्देशनालयले जनाएको छ । अदालतको फैसला कार्यान्वयनका लागि प्रहरीको सहयोगमा चौधरीलाई डिल्लीबजार कारागार पठाइएको निर्देशनालयका सूचना अधिकारी नेत्रहरि पौडेलले जानकारी दिए । 

उनका अनुसार अब चौधरीले बाँकी कैद (१४ वर्ष ९ महिना) भुक्तान गर्नेछन् । यद्यपि,सर्वोच्चको अन्तिम फैसलाबाटै उनको कैद सजाय तय हुने पौडेल बताउँछन् ।

उता प्रहरीले पनि कानुनी प्रक्रिया पूरा गर्न चौधरीलाई नियन्त्रणमा लिएर कारागार पठाइएको बताएको छ । ‘पार्टी एकताको कुरा हामीलाई थाहा भएन, अदालतको आदेश कार्यान्वयन मात्र गरेका हौँ’, जिल्ला प्रहरी परिसर काठमाडौँले भनेको छ, ‘कानुनी प्रक्रियामै रहेर उहाँलाई नियन्त्रणमा लिइएको हो, अरु केही कारण छैन ।’

 

 

टिप्पणीहरू