रवि जेल गएपछि सहकारी बचतकर्ताहरुलाई हुँडलेको आशंका
बुटवलको सुप्रिम सहकारी संस्थाका बचतकर्तामध्येका एक नारायण पहराईले रवि लामिछानेलाई थुनेर पैसा फिर्ता गर्ने मुख्य एजेण्डाबाट सरकार पन्छिन खोजेको आरोप लगाएका छन् । बचत रकम फिर्ताका लागि प्रहरीमा जाहेरी दिएकोमा त्यसैलाई देखाएर अनेक राजनीति गरिएको उनको दाबी छ । आफ्नो जाहेरी कुनै व्यक्ति लक्षित नरहेको समेत उनले बताए ।
जिल्ला अदालत रूपन्देहीमा चलिरहेको सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा रवि पुर्पक्षका लागि थुनामा गएपछि जाहेरीकर्ता पहराईको यस्तो प्रतिक्रिया आएको छ । ‘मेरो उजुरी कोही व्यक्ति लक्षित थिएन, बचत फिर्ताका लागि मात्रै थियो’, पहराई भन्छन्, ‘एक वचन नसोधी, सहमतिसमेत नलिई प्रहरीले मलाई नै मुख्य उजुरीकर्ता जसरी प्रस्तुत गरेर अनुसन्धान प्रतिवेदन बनाएछ ।’
बचत फिर्ताको आग्रहबाहेक कुनै व्यक्तिविरुद्ध किटानी जाहेरी नदिएको उनको जिकिर छ । ‘तर, रवि लामिछानेविरुद्ध किटानी जाहेरी दिएको जसरी प्रचार गरियो, यो प्रचारमा सत्यता छैन’, उनले थपे ।
संसदीय विशेष छानबिन समितिले तयार पारेको प्रतिवेदनमा बचतकर्ताको रकम फिर्ता गर्ने उपाय र सुझाव उल्लेख गरिए पनि सरकारले त्यसतर्फ चासो नदेखाएको पहराईको आरोप छ । ‘यत्रो समय बित्यो, खै त ? संसदीय विशेष छानबिन समितिले बचत फिर्ताका लागि के–के सिफारिस गर्यो भनियो । तर, सरकारले ती सिफारिस कार्यान्वयनमा ध्यानै दिएको छैन’, उनी भन्छन्, ‘केही व्यक्ति पक्राउ गर्ने, थुन्ने र मुद्दा चलाउने बाहेक यसबीचमा सरकारले पीडितलाई न्याय दिने के काम गर्यो ? केही गरेको छैन । बरु, हामीजस्ता पीडितलाई देखाएर राजनीति पो गरियो कि !’
पहराईले सहकारी पीडितको पैसा फिर्ता पाउनुपर्ने मुख्य सवाललाई सरकारले विषयान्तर गर्न खोजेको आरोप पनि लगाएका छन् । ‘केहीले स्वार्थ पूरा गर्न खोजेका हुन् भने म अहिले पनि उजुरी–मुद्दा फिर्ता लिन राजी छु । हामीले बचत फिर्ता मागेका हौं, हामीले यसलाई समात, उसलाई थुन, त्यसलाई मुद्दा चलाउ भनेका छैनौं’, पहराईले भनेका छन्, ‘न्यायका नाममा पीडितलाई मात्र होइन अन्यलाई पनि निरन्तर अन्याय भएपछि बोल्न बाध्य भएको हुँ ।’
लामो समय चुपचाप बसेका पहराईले रवि जेल गएलगत्तै यस्तो प्रतिक्रिया जनाउनुलाई रहस्यमय मानिएको छ । उनलाई उजुरी फिर्ता गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले दबाब दिएको कतिपयले आशंका गरेका छन् ।
टिप्पणीहरू