राष्ट्र बैंकको उत्सवमा गम्भीर त्रुटी, कामु गभर्नरलाई चुनौती

नेपाल राष्ट्र बैंकले आज ७० औं वार्षिकोत्सव मनाइरहेको छ । बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहमा भूतपूर्व गभर्नर, डेपुटी गभर्नरहरुलाई पनि निम्त्याइएको छ । २०६५ माघ २ गतेदेखि २०६६ साउन ११ गतेसम्म गभर्नर रहेका दीपेन्द्रबहादुर क्षेत्रीलाई आज सम्मान गरिएको छ ।
कायम मुकायम गभर्नरको जिम्मेवारीमा रहेकी डेपुटी निलम ढुंगाना तिम्सिनाले दोसल्ला ओढाएर क्षेत्रीको सम्मान गरेकी छन् । बैंकले हरेक वर्ष भूतपूर्व गभर्नरहरुमध्येबाट एक जनालाई सम्मान गरेर मन्तव्य राख्न दिने प्रचलन छ । यो वर्ष सोही कार्यका लागि क्षेत्री छनौट भएका हुन् ।
चैत २५ गतेदेखि रिक्त गभर्नरमा हालसम्म नियुक्ति हुन नसक्दा उक्त विषय निकै विवादित र पेचिलो बनेको छ । बिचौलियादेखि अदालतसम्म पुगेको गभर्नर नियुक्तिको विषयले पदको मर्यादा कायम नराखेको जनाउँदै पूर्व गभर्नर विजयनाथ भट्टराईले गतसाता गभर्नर सिफारिस समितिको सदस्यबाट राजीनामा दिइसकेका छन् । उनी आज बैंकको कार्यक्रममा गएनन् । भलै मौसमी स्वास्थ्यको कारण कार्यक्रममा सहभागी हुन नसकेको बताए ।
कामु गभर्नरको निम्तो मान्न भूतपूर्व गभर्नरहरु भेषबहादुर थापा,गणेशबहादुर थापा,तिलक रावल,दीपेन्द्रपुरुष ढकाल, दीपेन्द्रबहादुर क्षेत्री र निवर्तमान महाप्रसाद अधिकारी पुगेका छन् । अधिकांश पूर्व डेपुटी गभर्नरहरु देखिएनन् ।
गभर्नरको दौडमा रहेका कार्यकारी निर्देशकहरु डा. प्रकाशकुमार श्रेष्ठ र गुणाकर भटट् पनि त्यहाँ नपुगेको बताइन्छ । आगामी जेठ १० गते अनिवार्य अवकाशमा जान लागेका श्रेष्ठ हाल राष्ट्रिय योजना आयोगमा सदस्य छन् । गतसाता दिइएको राजीनामा म्याडमले स्वीकृत नगरेपछि भट्ट पनि आजको कार्यक्रममा देखा परेनन् । गत मंसिरमा अवकाशप्राप्त कार्यकारी निर्देशक देवकुमार ढकालको अनुपस्थितिलाई पनि अर्थपूर्ण ठानिएको छ । उनी सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालका सहोदर दाजु हुन् ।
गतवर्ष अवकाशप्राप्त कार्यकारी निर्देशक विनोदराज आचार्यले भने बैंकको कार्यक्रम आयोजक समितिले एक तह घटुवा गरेर निम्तो पठाएपछि सामाजिक सञ्जाल रंगाएका छन् । फेसबुक पेजमा लेखेका छन्, ‘अपमानसहितको निमन्त्रणा स्वीकार गर्न सकिएन । ७० औं वार्षिक उत्सवको अवसरमा सम्बन्धित सबैप्रति शुभकामना व्यक्त गर्दछु ।’ उनले कार्यकारी निर्देशकलाई निर्देशक सम्बोधन गरेर पठाइएको निम्तोदेखि अवकाशप्राप्त कर्मचारीको परिचयपत्र,अवकाश हुँदा दिइएको पत्र र पेन्सन पट्टाको फोटोकपी नै सामाजिक सञ्जालमा पोष्टाएका छन् ।
उक्त निम्तो सम्पत्ति तथा सेवा व्यवस्थापन विभागका कार्यकारी निर्देशक तथा वार्षिकोत्सव मूल समारोह समितिका संयोजक रोशनकुमार सिग्देलको नामबाट पठाइएको थियो । कामु गभर्नर तिम्सिना,सिग्देल र आचार्य २०५४ सालको ४९ जना अधिकृतका ब्याची हुन् । निलम र सिग्देल झापाका हुन् भने आचार्य मोरङका । राजनीतिक रुपमा निलम र सिग्देल बैंकमा धमिलो धमिलो एमाले र आचार्य काँग्रेसको रुपमा परिचित छन् ।
आचार्यको फेसबुक पेजमा कमेन्ट गर्दै पहिलेका कार्यकारी निर्देशक सुशिलराम माथेमाले लेखेका छन्,‘जमानामा गरिमामय स्तरमा गनिने नेपाल राष्ट्र बैंकको शाखलाई पनि पार्टीका झोले कार्यकर्ताहरुले खतम पारे ।’ अर्का निर्देशक भुवन बस्नेत र हरिगोपाल अधिकारीले पनि सामाजिक सञ्जालमा त्यस्तै लेखेका छन् ।
टिप्पणीहरू