‘साना माछा’ फ्राइ हुन लागेको किरातीको दावी,गोप्य ‘डकुमेन्ट’ भट्टराईसँग

नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किरातीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारका ‘ठूला माछा’लाई जोगाएर ‘साना माछा’ फ्राइ गर्ने काम भइरहेको टिप्पणी गरेका छन् । संसदीय उपसमितिले विमानस्थल निर्माणमा १० अर्बभन्दा बढी अनियमितता भएको प्रतिवेदन तयार पारेकाे पृष्ठभूमिमा किरातीले यस्तो प्रतिक्रिया दिएका हुन् ।
केही व्यक्तिले अध्ययन नै नगरी ठूला परियोजना शुरु गर्दा राज्यको सम्पत्ति चरम दुरुपयोग भइरहेको किरातीको जिकिर छ । ‘कति-कति खानलाई, कस-कसले खानलाई त्यो विमानस्थल निर्माण भयो ? त्यो विस्तारै प्रमाणित होला’, उनले भनेका छन्, ‘अनुभवले देखाउँछ खानेहरु समाजका महान छन्, खुवाउनेहरु सबै गधा भए । ठूला माछाहरु यतिबेला समुन्द्रमा खेल्दैछन्, खुवाउने साना माछाहरु तेलमा फ्राइ हुन लागेका छन् ।’
पूर्व पर्यटनमन्त्री समेत रहेका किरातीले धरानमा विमानस्थल बनाउने प्रस्ताव कसरी तुहियो ? त्यसबारे पनि संक्षेपमा खुलाएका छन् । ‘म धरानमा विमानस्थल बनाउन चाहन्थेँ तर काम भावनाले मात्र हुँदैन रहेछ । विमानस्थल बनाउन नसकेकोमा असाध्यै दुखी छु, तर नबनिने स्थानमा बनिन्छ भन्दै चुनावी नारा बनाएर जनतालाई मुर्गा बनाउने खेलको मैले सदाका लागि अन्त्य गर्न सकेको छु’,उनले थपेका छन् ।
खानेहरु समाजका महान छन्, खुवाउनेहरु सबै गधा भए । ठूला माछाहरु यतिबेला समुन्द्रमा खेल्दैछन्, खुवाउने साना माछाहरु तेलमा फ्राइ हुन लागेका छन्
मुलुकको जिम्मेवार पदमा बसेर राज्यको सम्पत्ति दुरुपयोग गर्नु सरासर भ्रष्टाचार ठहरिने किरातीको विश्लेषण छ । आग्रह गर्दै भनेका छन्,‘अबउप्रान्त कसैले पनि भैँसीसँग कुखुराको भाले साट्ने मूर्खता नगरौं,देश र जनतालाई छातिमा राखौं ।’
उता सत्तारुढ दल नेकपा (एमाले)का सांसद तथा पूर्व पर्यटनमन्त्री योगेश भट्टराईले पनि विमानस्थल निर्माणमा भ्रष्टाचार भएको स्वीकार गर्दै गोप्य ‘डकुमेन्ट’हरु आफूसँग भएको दावी गरिसकेका छन् । समय आएपछि ती ‘डकुमेन्ट’ सार्वजनिक गर्ने उनको भनाई छ । ‘सत्ता र पदको दुरुपयोग गरेर भ्रष्टाचार र बेथितीको दलदलमा जाकिएकाहरु काँक्रा आफू खाने र बियाँ अर्काको निधारमा टाँस्न कतिसम्मकाे खप्पिस छन्,मैले राम्ररी बुझेको छु’, उनले भनेका थिए, ‘मिडिया ट्रायल गरेर उम्कन सकिन्छ भनी ढुक्क नभए हुन्छ । डकुमेन्ट मसँग छ,आवश्यक परे सार्वजनिक गरौंला ।’
टिप्पणीहरू