प्रहरी हिरासतको खानपान राम्रो : धवल शमशेर

प्रहरी हिरासतको खानपान राम्रो : धवल शमशेर

राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणाले हिरासतभित्र राम्रो व्यवहार गरिएको बताएका छन् । क्यान्सर पीडित उनलाई उपचारको निम्ति हिजो राति प्रहरीले हाजिर जमानीमा रिहा गर्दै पत्नीको जिम्मा लगाएको थियो । आज दिउँसो धुम्बाराहीस्थित पार्टी कार्यालयमा पुगेका राणाले हिरासत बसाइँको अनुभव सेयर गर्दै भने, ‘निकै राम्रो व्यवहार भयो । प्रहरीलाई धन्यवाद ।’

तीनकुने घटनाकै दिन साँझ पक्राउ परेपछि प्रहरीले ‘अस्पताल जाने हो ?’ भनेर सोधेको पनि राणाले सुनाए । तर आफूले ‘ठिकै छ, अहिले त्यति सिरियस छैन’ भनेर हिरासतमै बस्न रुचाएको बताए । राणाले भने, ‘त्यहाँ २४ दिन बसियो, कुनै पनि समस्या भएन । प्रहरीले राम्रो खाना र बस्नको व्यवस्था गरेको थियो ।’ हिरासतमा एक्सरसाइज गरिएको र रविन्द्र मिश्र पनि सँगै भएकाले नराम्रो केही नलागेको उनको अनुभव छ । 

हिरासतको केही दिनपछि भने शरीरमा प्रत्यारोपण गरिएको भागमा असर परेपछि उनले चिकित्सकसँग सल्लाह लिएका थिए । ‘उहाँले (चिकित्सक) फलोअप गर्नुपर्छ भनेपछि बाहिर निस्कनैपर्ने भयो’, उनले सुनाए ।

टिप्पणीहरू