रवि लामिछानेकाे मुद्दा हेरिएन
सहकारी ठगी र संगठित अपराधमा अदालतको आदेशबमोजिम पुर्पक्षका लागि थुनामा रहेका रवि लामिछानेको तर्फबाट सर्वोच्च अदालतमा दायर भएको बन्दी प्रत्यक्षीकरणको रिट हेर्न नमिल्नेमा परेको छ । न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा सुनुवाईका लागि पेशी तोकिएको उक्त रिट हेर्न नमिल्नेमा परेको हो ।
आज सर्वोच्चको इजलास नम्बर ३ को पेशी सूचीमा लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट मुद्दा क्रम संख्या ‘ख’ मा थियो । सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीं (रास्वपा) का सभापतिसमेत रहेका लामिछानेलाई गैरकानूनी थुनामा राखेको दाबी गर्दै श्रीमती निकिता पौडेल लामिछानेले हिजो सर्वोच्चमा रिट निवेदन दर्ता गराएकी हुन् ।
निवेदनमा रविले आफूलाई प्रचलित कानूनविपरीत थुनामा राखिएको दाबी गरेका छन् । यसअघि उनले आफूलाई थुनामा पठाउने उच्च अदालत बुटवलको आदेशविरुद्ध सर्वोच्चमै अर्को निवेदन दिएका थिए । उक्त मुद्दामा सुनुवाई गर्दै सर्वोच्चले कैफियत प्रतिवेदन झिकाउने आदेश गरिसकेको छ । बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी मुद्दामा रवि जेल परेका हुन् ।
सो मुद्दामा जिल्ला अदालत रुपन्देहीले एक करोड रुपैयाँ धरौटीमा रिहा गरेको थियो । तर, उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्लाको आदेश बदर गर्दै थुनामा पठाउने आदेश आएलगत्तै बूढानीलकण्ठ नजिकैको निवासबाट समातिएका रवि भोलिपल्टदेखि भैरहवा कारागारमा छन्।
टिप्पणीहरू