नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकमाथि कारबाहीको माग

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकमाथि कारबाहीको माग

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा अनियमितता भएको निचोड निकालेको छ । संसदीय छानबिन समितिले सार्वजनिक लेखा समितिलाई बुझाएको प्रतिवेदन कार्यान्वयनको माग गर्दै रास्वपाको गण्डकी प्रदेश कार्यालयले प्रतिवेदन तत्काल अगाडि बढाएर दोषीउपर कारबाही गर्नुपर्ने जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणलाई ज्ञापनपत्र बुझाउँदै कार्यालयले राजनीतिक नेतृत्वहरुमाथि समेत छानबिन हुनुपर्ने बताएको छ । सम्भाव्यता अध्ययनदेखि सम्पन्न हुँदासम्म नीतिगत, प्रक्रियागत र कार्यान्वयनमा संलग्न निर्णयकर्तालाई कारबाही गर्नुपर्ने रास्वपाको भनाइ छ ।

‘विमानस्थलको सम्भाव्यता अध्ययनदेखि निर्माण सम्पन्न हुँदासम्म नीतिगत, प्रक्रियागत र कार्यान्वयनमा संलग्न निर्णयकर्ता पदाधिकारीमाथि पनि छानबिन गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । यसका साथै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अवधिका विभिन्न निर्णय प्रक्रियामा संलग्न राजनीतिक नेतृत्वहरुलाई समेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने देखिएको हुँदा तत्कालीन अवस्थाका निर्णय प्रक्रिया रकार्यान्वयनको तहमा रहेका राजनीतिक नेतृत्वहरुलाई समेत छानबिनको दायरामा ल्याउन संसदको चौंथो ठूलो दलको हैसियतमा जोडदार माग गर्दछौं’,पत्रमा उल्लेख छ । 

प्रतिवेदन कार्यान्वयन नभएमा सडक र सदनबाट सशक्त आवाज उठाउने चेतावनी दिइएको छ । चिनियाँ सहुलियत ऋण सहयोगमा निर्माण भएको विमानस्थलमा दुई अर्बभन्दा बढी घोटाला भएको छानबिन समितिको निष्कर्ष छ । उक्त विमानस्थल निर्माणको क्रममा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी परियोजना प्रमुख थिए । उनीमाथि अख्तियारलेसमेत छानबिन गरिरहेको छ ।

टिप्पणीहरू