नाम आलुप्याज,काम फलफूलमै साँवा र ब्याज

नाम आलुप्याज,काम फलफूलमै साँवा र ब्याज

भन्सार विन्दुबाटै राजस्व छलीचैत २५ कृष्णनगर भन्सारबाट जाँच पास भई निस्केको फलफूलको ट्रक भालुवाङ प्रहरीले नियन्त्रणमा लियो । लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी दानबहादुर कार्कीको निर्देशनमा पक्राउ परेको युपी १४ जेटी ०५३३ नम्बरको ट्रकमा तरबुजा थियो ।

भारतको नासिकस्थित ओम साई फ्रुट कम्पनीबाट लमहीको सुरेश फलफूल पसलका लागि जाँचपास गरिएको ट्रकमा भन्सार गरेको भन्दा दोब्बर सामान रहेको सुराकीको आधारमा प्रहरीले नियन्त्रणमा लिई चैत २६ गते कोहलपुर राजस्व कार्यालयलाई बुझाएको थियो ।

चैत २९ गते कोहलपुर राजस्व टोलीले जाँच गर्दा ८ टन ७ क्वीन्टल तरबुजाको भन्सार गरिएकोमा गाडी बाहेकको तौल गर्दा त्यहाँ १८ टन मालवस्तु देखियो । “यसमा भन्सार राजस्व तिरेको भन्दा ९ टन २ क्वीन्टल सामान बढि पाइयो” जाँचमा खटिएका एक कर्मचारीले भने । सुरेश फलफूल पसललाई राजस्वले ५ लाख ८९ हजार १ सय रुपैयाँ धरौटी तथा ५० हजार जरिवाना गरी बुधबार छाडेको छ । 

यसै गरी वैशाख २ गते कृष्णनगर भन्सार कार्यालयबाट जाँचपास भई तौलिहवा जाँदै गरेका २ वटा ट्रक कपिलवस्तु प्रहरीले नियन्त्रणमा लिएको थियो । भन्सार गरिएको भन्दा बढी मालवस्तु भएको सुराकीको आधारमा प्रहरीले बुटवलस्थित राजस्व कार्यालयको टोलीसमेत झिकाई चेकजाँच गर्दा तौल फरक परेपछि राजस्व कार्यालयको जिम्मा लगाइएको हो । प्याज बोकेको युपी ४७ टी ३४२८ र एमएच १५भि ७६६२ नम्बरको ट्रकमा भन्सार गरिएको भन्दा ४ टन बढी मालवस्तु फेला परेको बुटवलस्थित राजस्व कार्यालयले जनाएको छ । मालवस्तु आयातकर्ता गुप्ता आलु प्याज सप्लायर्स तौलिहवालाई २ वटा ट्रकको १० लाख धरौटी तथा ५० हजार जरिवाना गराएको छ । थप अनुसन्धानका लागि आवश्यक कागजात झिकाएको कार्यालयले जनाएको छ । चैत ७ गते भन्सार सेटिङ्ग गरी युपी ३२ एन ००६९ नम्बरको ट्रकमा ३ क्वीन्टल बढी अंगुर भेटिएको थियो ।

भन्सार विन्दुबाटै जाँचपास गरेको ट्रक प्रहरीले राजस्व छली गरेको उक्त गाडी राजस्व कार्यालयमा बुझाएपछि भन्सार प्रमुख फणिन्द्र खतिवडाले सुरक्षाकर्मीसंग असन्तुष्टि समेत व्यक्त गरेका थिए । २ महिनाअघि समेत युपी ५३ एफटी ६८६९ नम्बरको गाडीमा भन्सार भई आएको भन्दा २०५ केजी बढी सिद्रा माछा फेला परेको थियो । भन्सारले २६३५ केजीको मात्र भन्सार गरेको प्रज्ञापन पत्रमा उल्लेख थियो ।

कृष्णनगर भन्सार कार्यालयबाटै जाँचपास भएका सवारीहरुमा भन्सार छली भएको यो पहिलो घटना भने होइन । ३ महिना यता कृष्णनगरबाट जाँच पास भएको ११ वटा मालवाहक ट्रक बुटवल राजस्व र एउटा कोहलपुर राजस्वले नियन्त्रणमा लिई कारवाही गरिसकेको छ । भन्सार कर्मचारी श्रोतका अनुसार प्याज,आलु र फलफूलमा मात्र नभई खाद्यान्न, कपडा तथा कच्चा औद्योगिक मालमा समेत तौलको हेराफेरी हुने गरेको छ । भन्सार प्रमुख खतिवडा आएदेखि आधा मालवस्तुको भन्सार हुने र बाँकी त्यसै सेटिङमा जाने गरेको दावी श्रोतको छ ।

श्रोतको दावीलाई माथिल्लो घटनाक्रमले समेत पुष्टि गर्दै गइरहेको छ । पटक–पटक जाँचपास भएको साधनमा भन्सारभन्दा बढी मालवस्तु भेटिनु, कार्यालयले आफ्नै तौल मेशिन सन्चालन नगरी राख्नु र गलत विवरण दिएर राजस्व छली गर्ने ऐजेन्ट र नक्कली बिल विजक बनाउने आयातकर्तामाथि कारवाही नगर्नु जाँचपासमा लापरवाही गर्ने कर्मचारीलाई उन्मुक्ति दिनुले भन्सारमा सेटिङबाटै राजस्व छली भइरहेको आरोपलाई बल पुग्छ । प्रज्ञापन पत्रमा भन्सार मालवस्तु जाँचपास ठीक भएको स्वघोषणा गर्ने भन्सार ऐजेन्ट निरन्जन श्रीवास्तवले गरेको मालवास्तु निकासीमा सबै भन्दा बढी राजस्व छली भेटिएको छ । कतिपय ऐजेन्ट घर बस्ने र विचौलियाहरुले नै गलत विवरण राखेर मालवस्तुको जाँचपास गर्दा समेत भन्सार कार्यालय मौन बस्ने घटनाले पनि उनीहरुको संलग्नता पुष्टि हुने देखिन्छ । 

कृष्णनगर भन्सार प्रमुख खतिवडाले आफूहरुको काम भन्सार गर्ने र प्रहरी राजस्वको काम पक्राउ गर्ने अनुसन्धान गर्ने गैर अभिव्यक्ति दिएका छन् । “हामी हाम्रो काम गर्छौ,उहाँहरु आफ्नो गर्नुहुन्छ” । आवश्यक जनशक्ति अभावले कहिलेकाही त्यस्तो भएको बताउँदै उनले विस्तारै सुधार हुने दाबी गरे ।

टिप्पणीहरू