निर्मल निवासमा लञ्च मिटिङ, बालुवाटारमा गणतान्त्रिक छलफल
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच गणतन्त्रको पक्षमा एक हुने सहमति भएको छ ।
तीन दलका नेताहरुबीच आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन एकजुट हुने सहमति भएको बताइन्छ । तीन नेताबीच भेटवार्ता भएको र गणतन्त्रको पक्षमा एक भएर अघि बढ्ने सहमति भएको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा जानकारी गराउनुभएको छ ।
भोलि राजधानीमा राप्रपाले निषेधित क्षेत्र तोड्ने उद्घोषका साथ विरोध प्रदर्शन गर्दैछ । उक्त प्रदर्शनको अघिल्लो साँझ बालुवाटारमा भएको भेटवार्तामा गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीका संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नी खरेलको पनि सहभागिता रहेको बताइन्छ ।
गृह मन्त्रालयले साँझ जारी गरेको विज्ञप्तिझैँ बालुवाटारमा नेताहरुले पनि संविधानको उल्लंघन गर्ने, सामाजिक अराजकता सिर्जना गर्ने, मुलुकको शान्ति र अमनचयनमा खलल पुर्याउनेप्रति सचेत हुन आग्रह गरेका छन् ।
यता, जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा उपत्यकाको सुरक्षास्थितिको बारेमा छलफल गरिएको छ । अन्तर जिल्ला सुरक्षा समन्वय बैठकमा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको उपस्थितिमा उपत्यकाको तीन वटै जिल्लाको सुरक्षा अवस्थाबारे छलफल भएको हो ।
राप्रपाको प्रदर्शनअघि हिजो बिहान निर्मल निवासमा पूर्व राजा ज्ञानेन्द्र शाहले राप्रपा अध्यक्ष राजेन्द्र लिंगदेनसहितका नेताहरुसँग लञ्च मिटिङ गर्नुभएको थियो । राप्रपा नेताहरले नयाँ वर्षको अवसरमा आयोजत कार्यक्रम भनेपनि उक्त लञ्च मिटिङमा लिंगेदनसहित पशुपति समशेर राणा, प्रकाशचन्द्र लोहनी, बुद्धिमान तामाङ र ज्ञानेन्द्र शाहीको मात्र उपस्थिति हुनुलाई पनि अर्थपूर्ण ठानिएको छ । चैत १५ गतेको हिंसात्मक तीनकुने घटनाअघि पनि शीतल निवासमा भेटघाटका लागि नवराज सुवेदी र दुर्गा प्रसाईं पुगेका थिए ।
टिप्पणीहरू