बालुवाटारमा गुरुहरु,‘फोटो सेसन त भयो,माग सम्बोधन नि ?’

बालुवाटारमा गुरुहरु,‘फोटो सेसन त भयो,माग सम्बोधन नि ?’

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल शिक्षक महासंघका पदाधिकारीहरुले भेटवार्ता गरेर फर्किएलगत्तै आन्दोलनरत शिक्षकहरुले अनेक प्रश्न तेर्स्याएका छन् । दुई साताभन्दा बढी समयदेखि राजधानीको माइतीघर र नयाँ बानेश्वर क्षेत्रमा आन्दोलन गर्दै आएका मुलुकभरका शिक्षकहरुले हिजो साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका महासंघका सदस्यलाई सामाजिक सञ्जालमा सोधेका छन्, ‘फोटो सेसन त भयो,माग के कति सम्बोधन हुने भो त ?’

यता प्रधानमन्त्रीको सचिवालयले जारी शिक्षक आन्दोलन र समस्या समाधानका विकल्पवारे छलफल भएको दावी गरेको छ ।  शिक्षकहरु विद्यालय शिक्षा विधेयक,२०८१ तत्काल पारित हुनुुपर्नेलगायत माग राख्दै आन्दोलनमा होमिएका थिए ।

चैत २० गतेदेखि आन्दोलनमा उत्रिएका शिक्षकहरुको माग पूरा गर्न प्रधानमन्त्रीले चैत २५ गते उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल,गृहमन्त्री रमेश लेखक,शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई निर्देशन दिनुभएको थियो । तर, शिक्षकहरु मन्त्रीको तहबाट आफ्ना माग पूरा नहुने जनाउँदै संसद बैठकबाट तत्काल विधेयक पारित गर्नुपर्ने मागमा अडिग छन् ।

सरकारले समस्या समाधानका लागि संवाद गर्न तयार रहेको,शिक्षकहरुको मागप्रति संवेदनशील र गम्भीर रहेको जनाउँदै विद्यालय भर्ना अभियान, एसइइको उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षालाई ध्यानमा राखेर आन्दोलन लिन आग्रह गरेको छ । तर, उनीहरुले सरकारको आग्रहलाई एउटा कानले सुनेर अर्को कानले उडाइदिएका छन् ।

हिजो रातिको छलफलमा महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदी,सहअध्यक्ष नानुमाया पराजुली,महासचिव तुलाबहादुर थापा,उपमहाचिव मदनराज जोशी सहभागी थिए ।

टिप्पणीहरू