सडक भरतपुरको, घोर अपमान मेयरको
‘काम गर्ने कालु, मकै खाने भालु’,भन्ने नेपाली प्रचलित उखानझैं महसुस भइरहेको छ चितवनस्थित भरतपुर महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई । संघीय सरकार र महानगरको संयुक्त बजेटमा निर्मित सडकको उद्घाटन कार्यक्रममा निमन्त्रणा नै नदिइएपछि जनप्रतिनिधि र कर्मचारी खिन्न भएका छन् । वि.सं. २०७७ माघ २७ गते नेकपा एमालेको अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नारायण बजारको पुल्चोकदेखि गोन्द्राङसम्म ६ लेनको सडक शिलान्यास गरेका थिए ।
सो सडकको भोलि उद्घाटन हुँदैछ । प्रधानमन्त्री ओली प्रमुख अतिथि भएको कार्यक्रमको सभापति संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल छन् । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, भौतिक पूर्वाधारसचिव केशव शर्मा बिडारी पनि कार्यक्रममा सहभागी हुनेछन् । उनीहरु भोलि बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत चितवन जाने बुझिएको छ । प्रधानमन्त्री ओली र शहरी विकासमन्त्री सिंहले कार्यक्रमलाई सम्बोधन गर्ने तय भएको छ ।
रोचक कुरा के भने,संघबाट प्रधानमन्त्रीसहितको जम्बो टोली कार्यक्रममा सहभागी भइरहँदा भरतपुर महानगरपालिकालाई भने निम्तो नै दिइएको छैन । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगिसक्दासमेत मेयर रेनु दाहालको हातमा निमन्त्रणा परेको छैन । अहिलेसम्म निमन्त्रणा नै नआएको स्रोत बताउँछ । निमन्त्रणा प्राप्त नभएपछि महानगरका कर्मचारीहरु दुःखी भएका छन् । महानगरलाई पन्छाएर संघीय सरकारले मात्र निर्माणको जस लिन खोजेको उनीहरुको आरोप छ ।
एक अर्ब १३ करोड रुपैयाँ लागतमा बनेको सडकको निर्माण २०७९ फागुन १० गतेभित्र सम्पन्न गर्नेगरी सम्झौता भएको थियो । तर, संघीय सरकारले बजेट रोकिदिदाँ काम अलपत्र परेको थियो । त्यसपछि महानगरले बजेट हालेर सडकको निर्माण सकाएको हो । तर,संघीय सरकारले काम सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने महानगरलाई नै पाखा लगाउन खोजेको अवस्था छ ।
कार्यक्रममा छुटाउनु महानगरमाथि ‘अन्याय’ भएको कर्मचारीहरु बताउँछन् । सडक निर्माणका लागि घर भत्काउने क्रममा स्थानीयबाट भएको आक्रमण, गालीगलौज आफूहरुले खानुपरेको उल्लेख गर्दै महानगरका एक कर्मचारी भन्छन्,‘सडक डिभिजन भरतपुरले सडक निर्माण गरे पनि घेराबार, वृक्षरोपण सबै महानगरले गरेको हो । सडक विस्तारको क्रममा चार वटा घर भत्काउनुपर्यो । स्थानीयले आलोचना गरे,विरोध जनाए । त्यो पनि हामीले खेप्यौं । उहाँहरुलाई घर बनाइदियौं । तर,अहिले हामीलाई नै छुटाए । यो सरासर अन्याय हो ।’
महानगरलाई निम्तो नदिनुको पछाडि सचिव बिडारीको हात भएको स्रोतको जिकिर छ । बिडारीलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुँदा सचिव पदमा बढुवा गरिएको हो । तेस्रो नम्बरमा सिफारिस भएका उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सचिवमा बढुवा गर्ने निर्णय गरेपछि विरोध पनि भएको थियो । तैपनि सचिव बनाइएका उनको र प्रचण्डको सम्बन्ध पछिल्लो समय चिसिएको छ । मेयर दाहाल प्रचण्डको पुत्री भएकाले निम्तो नदिइएको स्रोतको ठहर छ ।
‘बिडारीलाई सचिवमा बढुवा प्रचण्डले गरेका हुन् । तर, उनीहरुको सम्बन्ध पछिल्लो समय त्यति राम्रो छैन । एकाध विषयले सम्बन्ध चिसिएको छ । उनले त्यसैको बदला लिएका हुन्’,स्रोतले भन्यो । यता, महानगरले भने कार्यक्रमको विषयमा कुनै जानकारी नभएको बताएको छ । महानगरकी सूचना अधिकारी मेनका पण्डितले कार्यक्रमको निम्तो नआएको बताइन् । जनआस्थासँग भनिन्,‘कार्यक्रम हुन लागेको भन्नेचाँहि सुनेको हो । तर, महानगरले आयोजना गरेको होइन । निम्तो आएको भए हामीलाई थाहा हुन्थ्यो,अहिलेसम्म कुनै जानकारी आएको छैन ।’
मेयर दाहालका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले कार्यक्रमको निम्तो नआएको बताए । ‘अहिलेसम्म त आएको छैन,विस्तारै आउँछ होला’,उनले भने ।
तिथि तय भइसकेको छैन: सडक डिभिजन
सडक डिभिजन,भरतपुरले कार्यक्रममा आउने अतिथिको टुंगो लागिनसकेको जानकारी दिएको छ । सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले प्रधानमन्त्री ओली,यातायातमन्त्री दाहाल र सचिव बिडारीको मात्रै तय भएको बताए । उनका अनुसार भोलि बिहान ११ बजेदेखि उद्घाटन समारोह शुभारम्भ गर्ने तयारी छ ।
भन्छन्,‘कार्यक्रम कति बजे भन्ने नै फिक्स भइसकेको छैन । हामीले बिहान ११ बजेको समय राखेका छौं । अब प्रधानमन्त्री कति बजे फुर्सद हुनुहन्छ, त्यसैअनुसार कार्यक्रमको सेड्युल राखिनेछ । अहिलेसम्म कार्यक्रममा सहभागी हुने एकाध जनाको तय भएको छ ।’ कार्यक्रममा मेयर दाहाल आउनुहुन्छ कि आउनुहुँदैन ? भन्ने प्रश्नमा उनले भने,‘मेयरसाब उपस्थित हुनुहुन्छ होला ।’
टिप्पणीहरू