प्रधानमन्त्रीको भेलामा उपस्थिति दिनदिनै पातलो

प्रधानमन्त्रीको भेलामा उपस्थिति दिनदिनै पातलो

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली खस्कँदो लोकप्रियताले नै चिन्तामा रहेको पाइन्छ । सामाजिक सञ्जालमा आउने गालीगलौज,विभिन्न सभा समारोहमा लाग्ने देश छोड र मूर्दावादको नारा त छँदैछ,बाहिर निस्कँदा बाटो रोक्नसमेत थालेको घटना सम्झिदैँ भेट्न आउनेहरुसँग दु:ख पोख्ने गर्नुहुन्छ  । 

हिजो साँझ बालुवाटारमा दुई घण्टा बिताएका एक जना एमाले नेताका अनुसार पछिल्लो समय अत्यावश्यकबाहेक सार्वजनिक कार्यक्रममा नजाने योजना छ । र, जिल्ला तहमा हुने कार्यक्रममा सेड्युल घटाउन थालिसक्नुभएको छ । केही दिनअघि सिराहा पुग्नुभएका ओली त्यहाँ भोग्नुपरेको तीतो अनभुवको कारण यस्तो निश्कर्षमा पुगेको ती नेताको बुझाई छ।

मङ्गलबार पार्टीको जिल्ला अधिवेशनलाई सम्बोधन गर्न सिरहा नगरपालिका पुग्नुभएका ओली मञ्चमा बोल्न शुरु गरेलगत्तै सहभागीहरु जर्याकजुरुक्क उठेर हिँडेका थिए । लामो भाषण गर्ने स्वभाव विपरित त्यसपछि उहाँलाई केही मीनेटमै मन्तव्य टुंग्याउनुपरेको थियो । उक्त भिडियो अहिले समाजिक सञ्जालमा भाइरल भएको हेर्न सकिन्छ । 

एमाले स्रोतका अनुसार सिराहाबाट हेलिकोप्टरमा फर्किनुअघि प्रधानमन्त्री ओलीले कार्यक्रमको व्यवस्थापन गतिलो नभएको भन्दै जिल्लाका दुई नेतालाई झपार्नुभएको थियो । उनीहरुलाई 'अब आइन्दा यस्तो कमजोरी नहोस्' को शैलीमा कडा निर्देशन दिइएको बताइन्छ । 

त्यसो त,प्रधानमन्त्री नै आउने भएपछि आयोजकले केही दिनअघिबाटै व्यापक प्रचारप्रसार गरेका थिए । ठूलो मास देखाउन सरकारी इन्धन बाँडेर मान्छे ओसारेको आरोप पनि छ । जे जसरी भए पनि कार्यक्रममा उपस्थिति संख्या नराम्रो थिएन । सिराहाका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको दावी मान्ने हो भने त्यसदिन करिब ७ हजार मान्छे सहभागी थिए । तर,प्रमको बोल्ने पालो आएपछि भने धेरैजसो  जुरुक्क उठेर हिँडे । 

‘पहिला मान्छे कति आउलान् भनेर सोध्नुभयो, त्यसपछि राम्रै उपस्थिति गराउनु है भनेर निर्देशन दिनुभएकाे छ ।’

प्रधानमन्त्री ओली हिजोको लागि पूर्वनिर्धारित एउटा कार्यक्रममा नजानुलाई कतिपयले यही घटनासँग जोडेर चर्चा गरेका छन् । हिजो उहाँ कोशी प्रदेश पर्यटन वर्ष २०८२’ को उद्घाटन गर्न तेह्रथुम जाने कार्यक्रम थियो । प्रधानमन्त्री आउने कार्यक्रमलाई भव्य बनाउन जनप्रतिनिधि र स्थानीयले सात दिनदेखि दमकलबाट सिन्चाइ गर्दै गुराँस फुलाउने प्रयाससमेत गरेका थिए । तर, प्रधानमन्त्रीले आफ्नो सट्टा उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई त्यता पठाउनुभयो । 

प्रधानमन्त्री ओली शनिबार गृह नगर दमक जाने कार्यक्रम छ । तर,पछिल्लो समय दमकमा राजावादी गतिविधि बढेको भन्दै पार्टी बैठकमा चिन्ता गर्नुहुने उहाँ सिराहा घटनापछि कार्यक्रममा नजाने पो हो कि भन्ने अड्कल एकथरीले गरेको पाइयो । बालुवाटारसँग नजिक सांसदसमेत रहेका एक अनुसार प्रधानमन्त्रीले हिजो झापाका केही नेतालाई फोन गरेर ‘सिराहामा जस्तो नहोस् है’ भनेर सचेत गराइसक्नुभएको छ । 

प्रधानमन्त्री ओलीले झापाका नेतासँग फोनमा गरेको संवाद सुनेका उनी भन्छन्, ‘पहिला मान्छे कति आउलान् भनेर सोध्नुभयो, त्यसपछि राम्रै उपस्थिति गराउनु है भनेर निर्देशन दिनुभएकाे छ ।’ 

आफ्ना आलोचकलाई प्रधानमन्त्री ओलीले हिजो एक कार्यक्रममा ‘बरु बोक्सी लगाइदिनु’ भन्दै कटाक्ष गर्नुभएको थियो । भूतप्रेतमा विश्वास नगर्ने कम्युनिष्ट पार्टीको अध्यक्ष उहाँले भन्नुभएको थियो, ‘गाली पनि कति गर्न सक्या ! बरु मलाई मारे हुन्छ,बोक्सी लगाएदिए हुन्छ नि !’

टिप्पणीहरू