शिक्षक आन्दोलनलाई लिएर सिजपको यस्तो सरोकार
बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) ले शिक्षक आन्दोलनका नाममा बालबालिकाको अधिकार हनन् हुन नदिन आग्रह गरेको छ ।
शिक्षक महासंघको आन्दोलनका कारण विद्यालय भर्ना अभियान, परीक्षाफल प्रकाशन, वार्षिक पात्रो निर्माणमा ढिलाई तथा एसईईको उत्तरपुस्तिका परीक्षणसमेत रोकिएकोप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै सिजपले यस्तो अनुरोध गरेको हो ।
आज विज्ञप्ति जारी गर्दै उसले बालबालिकाले शिक्षा प्राप्त गर्न पाउने हक अधिकारको उल्लङ्घन हुन नदिन सबैलाई सचेत गराएको छ । नयाँ शैक्षिक सत्र प्रारम्भ भइरहेको अवस्थामा शिक्षण सिकाई प्रक्रियामा अवरोध आउनेतर्फ सजग रहन सरकार र सरोकारवालाहरुसँग अनुरोध गरिएको छ ।
विज्ञप्तिमा उल्लेख छ, ‘शिक्षक आन्दोलनका कारण विद्यार्थी भर्ना अभियान, नयाँ शैक्षिक सत्रको सुरुवात र एसईई उत्तरपुस्तिका परीक्षणलगायतका महत्त्वपूर्ण कार्य रोकिएका छन् । यस आन्दोलनको कारण नयाँ शैक्षिक सत्र ढिला हुने र त्यसबाट झन् समस्याहरु देखिन सक्ने सम्भावना देखिएको हुँदा विद्यालय र बालबालिकालाई शान्ति क्षेत्रको रुपमा विकास गर्न कुनै पनि किसिमको शैक्षिक हड्तालको प्रभावले शिक्षा प्राप्त गर्ने हक, अधिकारको उल्लङ्घन हुन नदिन सम्पूर्णमा अपिल गर्दछौं ।’
सरकारी तथ्याङ्कअनुसार अझै पनि दुई लाख बढी बालबालिका विद्यालय बाहिर रहनुसँगै वार्षिक आधारभूत तहमा करिब तीन प्रतिशत बालबालिकाले विद्यालय छोड्ने गरेको जनाउँदै सिजपले भनेको छ, ‘विद्यालय छोडेकालाई फर्काउने र निरन्तरता दिने समयमा यस प्रकारका आन्दोलनले झनै हानी गर्दछ ।’
तसर्थ, आन्दोलनलाई शान्तिपूर्ण वार्ताको माध्यमबाट स्थगन गरी शिक्षकहरुलाई कामकाजमा फर्काउन सिजपले सरकारसँग माग गरेको छ ।
टिप्पणीहरू