म्यादै नबुझी शक्तिकेन्द्रतिर सर्लक्कै

म्यादै नबुझी शक्तिकेन्द्रतिर सर्लक्कै

– मोतीराम तिमल्सिना

सिन्धु विकास बैंकमा शेयर सदस्यहरूले गरेको लफडाभित्र अनेक कारण छन् । बैंकभित्र अनियमितताविरुद्ध आवाजसमेत उठाउन नपाउने गरी सीमित व्यक्तिले मनोमानी गरेको आरोप छ । आरोपकै बीचमा तत्कालीन शाखा प्रमुखसमेत रहेका सुमन खरेलमाथि बैंकिङ कसुरपछि अर्काे अभियोगमा पनि अनुसन्धान शुरु भएको छ ।

सम्पत्ति शुद्धीकरण (मनी लण्डरिङ) सम्बन्धी कसुर मुद्दाको अभियोगमा काभ्रेपलाञ्चोक जिल्ला अदालतले म्याद जारी गरेको छ । अभियुक्तमध्ये एक जना कारागारमै रहेको र बाँकी दुईका नाममा म्याद जारी भइसकेको अदालतका सूचना अधिकारी अक्षयकुमार दनुवारले जानकारी दिए । यो प्रकृतिको मुद्दा जिल्ला अदालतमा दर्ता भएको पहिलो हो । जिल्ला न्यायाधिवक्ता कृष्णा भण्डारीले २०८१ फागुन १८ गते अभियोग दर्ता गरेकी थिइन् । म्याद जारी भएको एक महिना हुँदासम्म तामेल भएको छैन । अभियुक्तहरू म्याद नबुझी शक्ति केन्द्र धाउन थालेका छन् ।

दोलालघाट शाखाका तत्कालीन प्रमुख सुमन खरेलले १ करोड ७४ लाख रुपैयाँँ हिनामिना गरेको अभियोगमा सजायँ भोगिरहेका छन् । २०७८ साल असोज २२ गते खरेलले खातामा जम्मा गर्नुपर्ने रकम १ करोड ७९ लाख ९० हजार ८ सय ५५ र ६८ लाख रुपैयाँँ अपचलन गरेको अभियोग दर्ता भएको थियो । सोही अभियोगमा उच्च अदालत पाटनले २०८० भदौ २७ गते खरेललाई ४ वर्ष ६ महिना कैद तथा २ करोड ५३ लाख ८७ हजार ९ सय ३६ रुपैयाँँ जरिवानाको फैसला गरेको थियो भने उनले अपचलन गरेको रकममा साझेदारी गर्ने वीरेन्द्र खत्रीलाई २ वर्ष कैद र १७ लाख जरिवाना तोकिएको थियो । उनी दुबै भुक्तान गरी सम्पत्ति शुद्धीकरण विभागको ६ लाख धरौटी तारेखमा थिए ।

सरकारी वकिल कार्यालय काभ्रेपलाञ्चोकले हालको भुम्लु–८ का सुमन खरेल, भक्तपुर चाँगुनारायण वडा नम्बर २ का वीरेन्द्र खत्री तथा उनकी श्रीमती बेलकुमारी बुढाथोकीविरुद्ध सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) सम्बन्धी अभियोग दर्ता गरेको हो । बेलकुमारी नेपाल प्रहरीमा कार्यरत छिन् । अभियोगमा खत्रीले आम्दानी गरेको १० करोड ७ लाख ७९ हजार ५ सय ९९ रुपैयाँँ र त्यसको लाभ ९ करोड २५ लाख ९ हजार रुपैयाँँ स्रोत नखुलेखेको अभियोगमा उल्लेख छ । उनी व्यवसायी पनि हुन् । श्रीमतीका नाममा रहेको सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका ७ स्थित कित्ता नम्बर १९३३ नम्बरको १११.२९ वर्ग मीटर जग्गाको श्रोत नखुलेकाले जफत गर्न माग गरिएको छ । यो दम्पत्तीको ६० वटा खाता रोक्का गरिएको छ ।

टिप्पणीहरू