नेपाल कराइरहने, भारतले पेलिरहने

नेपाल कराइरहने, भारतले पेलिरहने

दार्चुला नेपालको आपत्तिलाई वेवास्ता गर्दै महाकालीमा भारतले तटबन्ध बनाउदै जिल्ला सदरमुकाम रहेको क्षेत्रमा समेत भारतले बलमिच्याइँ गरी तटबन्ध निर्माण गरिरहेको छ । सीमानदी महाकालीको पश्चिमी किनारमा नदीको बहाव (धार) नेपालतर्फ फर्किनेगरी तटबन्धको पक्की संरचना बनाउँदै आएको छिमेकीले पछिल्लो समय नेपाली भूमिनै मिचेर तटबन्ध निर्माण गरिरहेको छ । 

महाकाली नगरपालिका वडा नम्बर ५ गल्फै क्षेत्रमा अहिले तटबन्धको काम जारी छ । दशकअघि २०७० सालको बाढीले धार परिवर्तन गरेपछि नदीको पश्चिमी किनारातर्फ समेत नेपाली भूमि पुगेको छ । गल्फैक्षेत्रमा अहिले बगिरहेको महाकाली नदीको पश्चिमतर्फ कम्तिमा ५० रोपनी नेपाली भूमि रहेको सरकारी अधिकारीहरुको भनाई छ । 

भारतले त्यसक्षेत्रमा पक्की तटबन्धको संरचना निर्माण शुरु गरेपछि तीन वर्षअघि पनि नेपालले आपत्ति जनाएको थियो । २०७८ चैत्र ३० गते दुबै देशको नापी विभागस्तरका अधिकारीहरुले स्थलगत भ्रमण गरे पनि नेपाली पक्षको मागलाई बेवास्ता गरिँदैआएको छ । 

त्यतिबेलाको भ्रमणटोलीले सहमतिका बुँदाहरुमा हस्ताक्षर नगरेको जिल्ला प्रशासन कार्यालयको भनाई छ । नेपाली पक्षले बुँदा प्रस्ताव गरेकोमा भारतीय अधिकारीहरु एकाएक पछाडि हटेका थिए । तीन वर्षअघि त्यसक्षेत्रमा केही निर्माण कार्य भए पनि नेपाली पक्षको विरोधपछि थप काम रोकिएको थियो । त्यसपछिका दुई वर्षमा महाकालीको बहावले नदी किनारतिर थप क्षति गरेको भन्दै यसपटक फेरि भारतले तटबन्ध निर्माण गरिरहेको छ । गल्फैक्षेत्रको महाकाली पश्चिमतर्फ भारतीय सेनाको ब्यारेक छ । 

नेपाल सरकारको जानकारी र सहमतिविना विवादित क्षेत्रमा तटबन्ध निर्माण भइरहेको भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले भने पारीलाई पत्राचार गरेको छ । विगतको पृष्ठभूमिसमेत उल्लेख गरेर जिल्ला प्रशासन कार्यालयले चैत्र १० गते पिथौरागढका जिल्लाधिकारी (डिएम)लाई पत्र लेखे पनि अहिलेसम्म जवाफ आएको छैन । धारचुलास्थित एसडिएम कार्यालयलाई पनि पत्र दिइएकोमा अहिलेसम्म दुबै निकायबाट प्रतिउत्तर प्राप्त नभएको सहायक प्रजिअ मोहनसिंह धामीले बताउनुभयो । 

दुई देशका अधिकारीबीच सहमति नजुटेको क्षेत्रमा जेसिबी मेसिन प्रयोग गरी भौतिक निर्माणको कार्य भइरहेको जानकारी गृह मन्त्रालयलाई पनि दिइएको तर माथिबाट पनि यसबारे केही निर्देशन प्राप्त भएको छैन । धारचुलाका एसडिएमलाई मोबाइल सम्पर्क गरेर समेत यसबारे जानकारी गराइएको सहायक प्रजिअ धामीको भनाई छ । तर तटबन्ध निर्माण भइरहदा नेपाली पक्षबाट ढुंगा प्रहार गरिएको भन्दै भारतीय प्रशासनले नेपाली प्रशासनमाथि उल्टै दबाव दिएको छ । नेपालतर्फबाट ढुंगा प्रहार गरिएको र त्यसलाई नियन्त्रण गर्नुपर्ने उताको माग छ । 
 

टिप्पणीहरू