पत्रकारमा पनि चुनाव नगराउने महासचिवको मन

जनसंगठनहरुको नेतृत्व चयनमा 'इलेक्सन' भन्दा 'सेलेक्सन' मा जोड दिँदै आएका एमाले महासचिव शंकर पोखरेलले पार्टी सम्वद्ध पत्रकारहरुलाई पनि चुनाव नगर्न निर्देशन दिएका छन् ।
विराटनगरमा आजदेखि शुरु भएको प्रेस चौतारी नेपालको दशौँ महाधिवेशन उद्धघाटन गर्दै उनले सहमतिबाटै नेतृत्व छान्न निर्देश गरेका हुन् । कांग्रेस र एमालेजस्ता पार्टीसमेत मिल्नुपरेको अहिलेको अवस्थामा प्रतिष्पर्धा होइन सहमति चाहिएको शंकरले जनाए ।
'जुन परिस्थितिमा महाधिवेशन हुँदै छ, अहिले हामीलाई एकता चाहिएको छ, प्रतिस्पर्धा होइन, सहमति चाहिएको छ', उनले भने, 'अहिले कांग्रेस र एमाले मिलिरहेका छन् । यो अवस्थामा सर्वसम्मत र एकताबद्ध रूपमा नेतृत्व निर्वाचित गर्नु होला ।’
यसअघि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशन उद्धघाटन गर्ने तालिका थियो । तर, नेतृत्व चयनमा विवाद हुने भएपछि आफू नगएर महासचिव शंकरलाई खटाएका हुन् ।
जनवर्गीय संगठनहरुको नेतृत्व चयन प्रक्रियामा जनवाद भन्दा केन्द्रीयता हावी हुने गरेको भन्दै एमालेमा पछिल्लो समय असन्तुष्टि बढिरहेको छ । कर्मचारी संगठनमा पार्टीले हस्तक्षेप गरेको भन्दै गत महिना सम्पन्न महाधिवेशन विवादमा परेको थियो । अध्यक्षका आकांक्षीहरुलाई बालुवाटार बोलाएर प्रधानमन्त्री तथा अध्यक्ष ओलीले आफूले अघि सारेको उम्मेदवारको नाममा सर्वसम्मत गर्न निर्देशन दिएको भन्दै कतिपयले गुनासो गरेका थिए ।
टिप्पणीहरू