दिल्लीबाट फर्किनासाथ सरकारबारे यस्तो दाबी
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले छिमेकी मुलुक भारत नेपालको लोकतान्त्रिक व्यवस्थाविरुद्ध नरहेको बताउनुभएको छ ।
भारतको औपचारिक भ्रमण पूरा गरी आज अपराह्न स्वदेश फर्किनुभएकी उहाँले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै उक्त धारणा सार्वजनिक गर्नुभएको हो । भारत नेपालमा अहिलेको लोकतान्त्रिक प्रणालीकै निरन्तरताको पक्षमा रहेको कांग्रेस नेत्रीसमेत रहेकी आरजुको दाबी छ ।
यद्यपि नेपालमा राजावादीहरुको गतिविधि भैरहेकोप्रति भारत बेखबर नरहेको तर व्यवस्था परिवर्तन गर्न भने नचाहेको उहाँले बताउनुभयो । भारतीय समकक्षी, ऊर्जामन्त्री लगायतसँगको कुराकानीमा अहिलेकै सरकारको पक्षमा देखिएको आरजुको जिकिर छ ।
‘यहाँको पोलिटिकल गतिविधिका बारेमा खासै त्यस्तो कुरा गरेनौँ । तर, उहाँहरुको सपोर्ट डेमोक्रेटिक सिस्टमलाई नै छ भन्ने चाहिँ उहाँहरुको हरेक गतिविधिबाट त्यो कुरा बुझ्न जरुरी छ', कांग्रेस सभापति शेरबहादुर देउवाको अर्धांगिनीसमेत रहेकी आरजुले भन्नुभयो, 'अहिलेको सरकारसँग एकदमै इन्गेज हुनुहुन्छ, उहाँको ट्रेड मिनिस्ट्री, पावर मिनिस्ट्री, फरिन मिनिस्ट्री सरकारको सिस्टमै चेन्ज हुने भन्ने जस्तो आशय मैले देखेको छैन ।’
भारत भ्रमणका क्रममा विभिन्न देशका विदेशमन्त्रीहरुसँग भएको दुईपक्षीय भेटवार्तामा नेपालले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् लगायत विभिन्न ठाउँमा दिएको उम्मेदवारीमा सहयोग गर्न आग्रह गरेको पनि परराष्ट्रमन्त्रीले जानकारी गराउनुभएको छ । नेपालको उम्मेदवारीप्रति धेरैले सकारात्मक जवाफ दिएको उहाँको भनाइ छ ।
दिल्लीमा रहँदा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाटको पहल नगरेको आरजुको दाबी छ ।
टिप्पणीहरू