गोरखा भ्रमण व्यवस्थापनको जिम्मा जगमानलाई

गोरखा भ्रमण व्यवस्थापनको जिम्मा जगमानलाई
सुन्नुहोस्

पूर्वराजा ज्ञानेन्द्र शाह नेपाल प्राज्ञिक मञ्जका संयोजक डा.जगमान गुरुङको निमन्त्रणा र व्यवस्थापनमा गोरखा जान लाग्नुभएको छ । निर्मल निवासका संवाद सचिव फणिराज पाठकले आज बिहान जारी गरेको सूचनामा पूर्वराजा यसैसाता गोरखा जाने जानकारी दिइएको छ । तर भ्रमणको विस्तृत विवरण दिइएको छैन । 

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपतिसमेत रहेका गुरुङको निम्तोमा गोरखा जान लाग्नुभएका पूर्वराजाले गोरखनाथ, गोरखकाली र मनकामना मन्दिरमा पूजापाठ गर्नुहुने छ । उता पनि पूर्वराजाको स्वागतमा हजारौँ समर्थक उतार्ने तयारी छ । 

गुरुङ नेकपा (एमाले) को कोटाबाट वि.सं. २०७५ प्रज्ञा प्रतिष्ठानको उपकुलपति नियुक्त भएका थिए । त्यसबेलाका कुलपति गंगाप्रसाद उप्रेती र पर्यटनमन्त्री रविन्द्र अघिकारीको सिफारिसमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेको थियो । कार्यकाल सकिएपछि गुरुङ राजसंस्थाको पक्षमा वकालत गर्दै आएका छन् । 

पूर्वराजाको ‘बक्सिस’ थाप्न पछिल्लो समय राजावादी दल र समूहमा देखिएको होडाबाजीमाथि पनि गुरुङले कडा टिप्पणी गरेका छन् । राजसंस्था पुनःस्थापनाको बहानामा दल र समूहहरुले आफ्नो रोटी सेकाइरहेको उनको विश्लेषण छ । 

गुरुङले भनेका छन्, ‘दिउँसो दुःख गरेर बार बारियो, साँझ कुखुराले भत्काइदियो भन्या जस्तै भइरहेको छ ।’
 

टिप्पणीहरू