यौनको विषयमा कांग्रेस सचेतकद्वारा क्षमायाचना
नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले यौन व्यवसायको पक्षमा दिएको अभिव्यक्ति फिर्ता लिदैँ माफी मागेका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा उनले समुदायलाई नकारात्मक प्रभाव पार्ने नियतले नबोलेको स्पष्टीकरण दिँदै क्षमायाचना गरेका हुन् । चैत ३ गतेको संसद बैठकमा घिमिरेले यौन व्यवसायलाई कानुनी मान्यता दिएर अर्थोपार्जन गर्न सकिने धारणा राखेका थिए ।
‘यौन व्यवसायलाई व्यवसायीकरण गरेर पर्यटकको संख्या बढाउन सकिन्छ’, उनको यस्तो भनाई आएपछि सामाजिक सञ्जालमा चर्को विरोध भएको थियो । विभिन्न कलाकार, लेखक, महिला अधिकारकर्मीलगायतले घिमिरेको उक्त अभिव्यक्तिको खुलेर आलोचना गरिरहेका छन् ।
सर्वत्र विरोध बढेपछि हिजो बुढानिलकण्ठमा बसेको काँग्रेस पादधिकारी बैठकले यसबारे चर्चा भएको थियो । बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले घिमिरेको धारणामा पार्टी जिम्मेवार नरहने बताएका थिए ।
काँग्रेस अनुशासन समितिका अध्यक्ष दिलेन्द्रप्रसाद बडुले मुलुकको सबैभन्दा ठूलो दलको सचेतक तथा संघीय सांसदको पद र मर्यादालाई ख्याल गरेरमात्र बोल्न निर्देशन दिएको बुझिएको छ । यसरी सर्वत्र आलोचना र विरोध भएपछि सचेतक घिमिरेले आज सबैसँग माफी मागेका हुन् ।
‘मैले अभिव्यक्त गरेको धारणा पार्टी र कांग्रेस संसदीय दलको आधिकारिक पनि धारणा होइन’, उनले भने, ‘यी विचारले संसद्का सदस्यहरू अन्य जनसमुदायमा समेत नकारात्मक प्रभाव परेको भए म उहाँहरूको सम्मान गर्दै क्षमा याचना गर्न चाहन्छु ।’
टिप्पणीहरू