पूर्व राजालाई पूर्व मुख्यमन्त्रीको कडा चेतावनी
राजतन्त्र फर्किने कुरा गरेर जनतामा भ्रम नछर्न लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरीले राजावादीहरुलाई घुमाउरो चेतावनी दिएका छन् ।
भैरहवामा आज आयोजित एक कायक्रममा उनले भने, ‘दशौँ पुस्तासम्म शासन गरेर मुलुकलाई अधोगतिमा पुर्याउने राजतन्त्र नेपाली जनताको आन्दोलनले हटाएको हो । त्यो अब फर्किने सम्भवना छैन, नचाहिने फत्तुर कुरा गरेर जनता भड्काउने काम नगर्न हामी चेतावनी दिन चाहन्छौं । ’
नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा रुपन्देही इञ्चार्जसमेत रहेका उनले हिजो राजावादीअह्रुले काठमाडौँमा गरेको प्रदर्शनको अर्थ नभएको बताए । दरबार हत्याकाण्ड हुँदा शंकास्पद घेरामा रहेका मान्छे ज्ञानेन्द्र शाह भएको टिप्पणी गर्दै गिरीले भने, ‘जुन राजतन्त्रको नायक आजको खलनायक दरबार हत्याकाण्ड हुँदा मुकदर्शक भएर आफ्नो ज्यान जोगाएको र विभिन्न हिसाबले शंकाको घेरामा राखेको मान्छेलाई केही अस्थिरताका पक्षधरले अगाडि सारेर राजतन्त्र फर्काउँछौँ भनेर गतिविधी गरिरहेका छन् । त्यो नचाहिनेको काम हो । ’
शालिन स्वभावको नेता भनी चिनिएका गिरी राजावादीको कुरामा भने अत्यन्तै आक्रोशित देखिए । सरकारको विरोध गरेकोमा उनी नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डप्रति पनि सन्तुष्ट सुनिएनन् ।
‘हिजो कम्युनिष्ट एकता तीनै अस्थिर स्वभावका प्रचण्डको कारण टुटेको हो । आज देशको स्थायित्वको लागि दुई ठूला दल एक भई समृद्धि र स्थायित्वको लागि काम गरिरहेका छन् । यस्तो बेला सत्ता बाहिर रहेकाहरुमा छटापटाहट छ जसको अर्थ छैन’, गिरीको दाबी छ ।
नेकपा एमाले सिद्धार्थनगर नगर कमिटीको आयोजनामा भैरहवामा भएको कार्यक्रममा अर्का पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईले राजतन्त्र ब्युँतिने कुरा दिवास्वप्न जस्तै हो भने । आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्दा सँधै अस्थिरतावादीहरुले अनेक फण्डासहितको कुचेष्टा गर्ने पुरानो ईतिहास भएको दृष्टान्त पेश गर्दै उनले गणतन्त्रको विकल्प नभएको बताए ।
कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य दधिराम न्यौपाने, जिल्ला अध्यक्ष यज्ञ गैरे, उपाध्यक्ष हितराज पन्थी, केन्द्रीय निर्वाचन आयोग सदस्य भरतकुमार पोखरेल, हरिप्रसाद अधिकारी लगायतका नेताले संघीय लोकतान्त्रिक गणतन्त्र नै समृद्धिको द्योत्तक रहेको बताएका छन् ।
कार्यक्रममा विभिन्न पार्टीका ५ सय भन्दा बढी नेता-कार्यकर्ता एमालेमा प्रवेश गरेको नगर अध्यक्ष चक्रबहादुर थापाले जानकारी दिए ।
टिप्पणीहरू