उद्योगीलाई अन्याय हुन दिन्नँ : ऊर्जामन्त्री
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले उद्योगी, व्यवसायीहरुमाथि अन्याय अत्याचार गर्नेमाथि सरकारले न्याय दिने बताएका छन् । मन्त्रीपरिषद् बैठकबाटै स्पष्टीकरण सोधेर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने तयारी गरिरहेका उनले घुमाउरो तवरले कुलमानको विरोधसमेत गरेका छन् ।
सिद्धार्थ उद्योग बाणिज्य संघको शुक्रबार भैरहवामा शुरु भएको ६६ औं बार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री खड्काले उद्योगीहरुमाथि भएको अन्याय अत्याचार सरकारले रोक्ने बताए । ‘ट्रंक र डेडिकेटेड लाइन प्रयोग गरेबापतको बिल तिर्नुपर्छ, तर कति प्रयोग भयो ? रेकर्ड खोई ?’ उनले प्रश्न गरे । मन्त्री खड्काले ट्रंक÷डेडिकेटेड लाइनका विषयमा प्राधिकरणबाट बदमासी भएको र उद्योगहरु अन्यायमा परेको बताए ।
भारतबाट हिउँदमा एक हजार मेगावाट बिजुली किनेर लोडसेडिङ्ग हटेको भन्दै ऊर्जामन्त्रीले वर्षादमा बढी भएको बेच्ने र हिउँदमा किनेर चलाउनुपर्ने नाजुक अवस्था रहेकाले अबको १० बर्षमा १३ हजार ५ सय मेगावाट बिजुली उत्पादन गरेर आन्तरिक खपत बढाउने दाबी गरेका छन् ।
सरकार निजी क्षेत्रमैत्री भएका कारण निजी क्षेत्रको प्रबद्र्धनका लागि पाँच वटा कानुन अध्यादेशमार्फत ल्याएर संसदबाट समेत पारित गराएको जिकिर गर्दै खड्काले गणतन्त्रको जगेर्ना, समृद्धि र आर्थिक विकासका लागि दुई ठूला पार्टीले सहकार्य गरिरहेको उल्लेख गरे ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले ट्रंक÷डेडिकेटेड लाइन विवादको स्थायी समाधान गरिदिन मन्त्री खड्कालाई अनुरोध गरेका छन् । उनले तीनै तहका सरकारले लिने दोहोरो, तेहोरो कर तथा अव्यवहारिक भन्सार मूल्यांकनका कारण उद्योगी व्यवसायीहरु धरासायी बनिरहेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष राजेश अग्रवालले मजदुर र विद्यार्थीपछि उद्योगीहरु देश छाड्ने अवस्थामा पुगेको भन्दै आर्थिक मन्दीबाट देशलाई उकास्न पूँजीगत खर्चमा बृद्धि, सडक निर्माणमा तीब्रता र रियलस्टेट कारोबारमा सहजीकरण गरिदिन आग्रह गरेका छन् ।
संघका अध्यक्ष ठाकुर श्रेष्ठले डेडिकेटेट लाइन समस्यामा रुपन्देहीका उद्योगीहरु पनि पीडित भएकाले न्याय दिन माग गरे । रुपन्देहीमा पञ्चकन्या स्टील, पञ्चकन्या प्लाष्टिक, सर्वोत्तम सिमेन्ट, बुटवल सिमेन्ट, लक्ष्मी स्टिल, अर्घार्खाची सिमेन्ट लि., विशाल सिमेन्ट, एभरेष्ट रोलिङ मिल, बिनायक स्पात प्रालि, जगदम्बा सिन्थेटिक्स, एसआर फुड्स, घराना फुड्स र सिद्धार्थ पेट प्लाष्ट सहित १८ उद्योग ट्रंक तथा डेडिकेटेड लाइन विवादमा परेका छन् । गोयनका फुड्स रुपन्देही, भलवारी स्वचालित चामल कारखाना, श्याम प्लाष्टिक उद्योग र शुभ लक्ष्मी पोलिमर्श उद्योग पनि छन् ।
टिप्पणीहरू