जन्मजात मुटुरोगी नेपाली विद्यार्थीको उपचार गर्दै चिनियाँ टोली

हृदयरोग विशेषज्ञहरुको चिनियाँ टोली जन्मजात मुटुरोग लागेका नेपाली विद्यार्थीको परीक्षण उपचारसम्बन्धी शिविरमा सहभागी भएको छ । विशेषगरी बालबालिकामा देखिने यस्तो रोगको प्रारम्भिक परीक्षण र उपचारमा नेपाली चिकित्सा टोलीसँगै चिनियाँ विशेषज्ञहरु संलग्न भएका हुन् ।
शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र,अन्नपूर्ण न्युरोलोजिकल इन्स्टिच्युट एण्ड एलाइड साइन्सेज र चीनको युन्नान प्रान्तको फुवेइ युन्नान अस्पताल, चिनियाँ चिकित्सा विज्ञान प्रतिष्ठानले संयुक्त रुपमा पछिल्लो पटक उक्त शिविर सञ्चालन गरेका हुन् । दोस्रो परियोजनाको रुपमा पछिल्लो पटक नेपाल आएको नौ सदस्यीय टोलीले चीनले हृदय रोग परीक्षण र उपचारमा प्राप्त गरेको सफलता तथा उच्च प्रविधिलाई जन्मजात त्यस्ता रोगबाट पीडित नेपालीको उपचारमा सदुपयोग गरेको बताइएको छ ।
फेब्रुअरी २३, २४ र २५ मा सिन्धुपाल्चोक र दोलखामा उक्त शिविर चलाइएको थियो । सिन्धुपाल्चोक,दोलखाको चरिकोट र शैलुङका विद्यालयमा सन्चालित शिविरमा चार हजार ७५२ जना विद्यार्थीको सामान्य मुटु जाँच गरिएमध्ये तीन सयबढीको विशेष जाँच गरिएको बताइन्छ । तीमध्ये २१ जनाको मुटुमा समस्या देखिएको हुँदा १३ जनाको काठमाडौंस्थित शहीद गंगालाल अस्पतालमा अपरेसनका लागि सिफारिस भएको थियो । तीन दिने शिविरमा नेपाली र चिनियाँ चिकित्सक तथा स्वास्थ्य टोलीका ३६ जना सहभागी थिए । यसवीच त्यस्ता तीन जना बिरामीको गत हप्ता गंगालालमा सफल शल्यक्रिया गरिएको छ ।
चिनियाँ पक्षले कम्तीमा आधा दर्जन बालबालिकालाई दुई महिनाभित्र खुनमिङ भ्रमण पनि गराउँदै छ ।
यसअघि सन् २०१९ मा पनि यस्तै शिविर पोखरामा चलाइएको थियो । त्यतिबेला तीन हजार तीन सय भन्दाबढी विद्यार्थीको मुटु परीक्षण गरिएकोमा दुई सयबढीको विशेष जाँच हुँदा १७ जनाको मुटुमा समस्या देखिएको र १० जनाको शल्यक्रिया गर्न सुझाइएको थियो ।
यस्तो शिविरको उद्देश्य स्कूलका विद्यार्थीको मुटु परीक्षण गर्ने, उपचारका लागि अभिभावकलाई सल्लाह दिने,आवश्यकताअनुसार नेपाल र चीनका मुटुसम्बन्धी अस्पतालमा शल्यक्रिया गर्ने र नेपाल तथा चीनका हृदयरोगसम्बन्धी चिकित्सकहरुबीच प्रविधि र ज्ञान आदानप्रदान गर्ने रहेको बताइन्छ ।
तस्बिरहरुः
टिप्पणीहरू