भारत हुँदै थाइल्याण्ड पुगेका नेपाली अलपत्र
अवैध बाटो हुँदै थाइल्याण्ड पुगेर अलपत्र परेका डेढ दर्जन बढी नेपालीको उद्धार गरिएको छ । उनीहरुलाई नेपाल फिर्ता ल्याइएको बैंककस्थित नेपाली राजदूतावासले जनाएको छ । रोजगारीको प्रलोभनमा परेर भारतको नयाँ दिल्ली हुँदै थाईल्याण्ड पुगेका २० जना अलपत्र परेका हुन् ।
दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘आकर्षक रोजगारीको प्रलोभनमा परी पलाउ भन्ने मुलुकमा रोजगारीका लागि पठाउन जनवरी २४ २०२५ मा भारतको नयाँ दिल्ली हुँदै थाईल्याण्ड ल्याई अलपत्र पारिएका २० जना नेपाली नागरिकहरुलाई राजदूतावासले उद्धार गरी आज फागुन २३, २०८१ मा नेपाल फर्काइएको छ ।’
दूतावासले कसैको प्रलोभनमा परी कानून विपरीत छिटो धेरै पैसा कमाउने हेतुले कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्डलगायत मुलुका नजान पनि सचेत गराइएको छ । सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्ने सरकारी सुझाव छ ।
टिप्पणीहरू