दुई पुरुष जोडिएको सन्तोषीको त्यो मरण
तालिम केन्द्रको शौचालयमा फागुन १० गते राति झुण्डिएकी सशस्त्र प्रहरी इन्स्पेक्टर सन्तोषी महतको आत्महत्या प्रकरणमा नयाँ नयाँ तथ्य उद्घाटित हुने क्रम जारी छ । परिवारको जाहेरीका आधारमा सुदूरपश्चिमे इन्स्पेक्टर विवेक जोशी समातिए पनि विद्युतीय सञ्चारसाधनहरूको चेकजाँचबाट फौजकै अन्य पुरुषसँगको अन्तरंग सम्बन्ध यसमा जोडिएको र वास्तविक प्रेमप्रसंग जेलिन पुगेको कास्की प्रहरीको प्रारम्भिक ठहर छ ।
मृतक सन्तोषीको सम्बन्ध अन्यसँग पनि देखिन आएको र सोही सूचना खुल्न जाँदा तनाव उत्कर्षमा पुगेको स्रोत बताउँछ । तालिम दिने काममा खटिएका सशस्त्रकै हवल्दार रमेश शाहीसँग २८ वर्षीया उनको तीन वर्षदेखि घनिष्ठ मित्रता रहेको एसएमसहरूबाट पुष्टि भएको छ । इन्स्पेक्टर विवेकसँग भने दुई वर्षदेखि प्रेमसम्बन्धमा थिइन् ।
घटनाक्रम फागुन ७ गतेपछि नयाँ मोडमा पुगेको र तेहेरो सम्बन्ध खुल्दाको तनाव नै उक्त अप्रिय घटनाको कारक रहेको समेत खुल्न आएको छ । स्रोत भन्छ, ‘प्रजातन्त्र दिवसका दिन सार्वजनिक बिदा भएकाले उनी बिदाको अरु दिनमा झैँ आउट गइन् । त्यो दिन पोखराको लेकसाइडमा ती हवल्दारसँग बसेको देखिन्छ ।’
यसबीच, अलि–अलि सुइँको पाएका इन्स्पेक्टर जोशी तनहुँबाट काजमा पोखरा आएको र विभिन्न माध्यमबाट प्रेमिकाको गतिविधि ‘फलो’ गरिरहेको समेत पत्ता लागेको छ । त्यसको दुई दिनपछि ९ गते शुक्रबार बेलुकी उनी इन्स्पेक्टर जोशीसँग भेट्न लामपाटनस्थित तालिम केन्द्रबाट निस्किएकी थिइन् ।
खानपिन र गफगाफपछि निदाएको अवस्थामा मध्यरात १ बजे सन्तोषीलाई उनै हवल्दारको म्यासेज गएको र आफू त्यो देखेर मर्माहत बन्न पुगेको जोशीको बयान छ । ‘दिनभरको थकाई र खानपिनपछि लेकसाइडको होटल कोठामा निदाएकी प्रेमिकाको मोबाइलमा परपुरुषको आपत्तिजनक म्यासेज देखेपछि जोशीको आशंका सत्य सावित भएको र सोही विषयमा बिहान झगडा परेको देखिन्छ । जे–जस्तो परे पनि अब गल्ती गर्दिनन् भने विवाह नै गर्छु भन्ने सोचमा रहेका जोशीले त्यसपछि साथीहरूलाई फोन गरेर सन्तोषीलाई सम्झाइदिन आग्रह गरेकोसम्म भेटिएको छ,’ स्रोतले भन्यो ।
भोलिपल्ट जोशीले हवल्दार ‘गुरु बा’ लाई बोलाएर हप्काउँदै सन्तोषीकै अघिल्तिर दुई–चार झाप्पु हानेका थिए । प्रेमिकालाई पनि ‘आइन्दा नचाहिँदो सम्बन्ध नराख्न’ भन्दै झपारे । लगत्तै सन्तोषी शनिबार दिउँसो ब्यारेकमा फर्किइन् जहाँ तालिम केन्द्रको वार्षिकोत्सव चलिरहेको थियो । महतसँग सम्बन्धमा रहेका हवल्दार पनि त्यहीँ कार्यरत भएकाले धेरैतिरबाट असहज महसुस गर्दै सन्तोषीले मध्यरात गलत निर्णय गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।
शनिबार मध्याह्न लेकसाइडको होटलमा भएको घटनाबारे स्रोत भन्छ, ‘इन्स्पेक्टर जोशीले बदमास भन्दै हवल्दारलाई चड्कन हानेको रहेछ । प्रेमिका महत पनि जोशीसँग अब यस्तो नगर्ने कसम खाँदै तालिम केन्द्र फर्केकी थिइन् । जवानबाट सेवा प्रवेश गरेर असइ हुँदै इन्स्पेक्टरमा नाम निकालेकी उनी ज्यादै संघर्षशील र प्रतिभावान थिइन् । तर, दुःखद निधनपछिको अनुसन्धानपश्चात् उनलाई इन्स्पेक्टरको मौखिक परीक्षामा अन्तर्वार्ता लिने एआइजीहरू नै छक्क परेका छन् ।’
हवल्दार रमेशलाई पोखरा तालिम केन्द्रमा प्रशिक्षक खटाउँदा यता मातातीर्थको एकेडेमीमा डिआइजी कमल गिरी थिए । अहिले गिरीको ठाउँमा लक्ष्मणबहादुर सिंह छन् र उनैलाई यस घटनाको छानबिन गर्ने जिम्मेवारी तोकिएको छ ।
टिप्पणीहरू