माओवादी अभियान : सडकमा स्वागत, चोकचोकमा सभा

माओवादी अभियान : सडकमा स्वागत, चोकचोकमा सभा

जनतासँग माओवादी तराई–मधेस जागरण अभियानअन्तर्गत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल प्रचण्ड नेतृत्वको केन्द्रीय टोली आज सर्लाहीमा छ ।  

फागुन १२ गते झापाको कचनकवलबाट शुरु भएको अभियान झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी हुँदै हिजो साँझ सर्लाही पुगेको हो । सर्लाहीका कार्यक्रम सकेर अभियान टोली आज साँझ रौतहट प्रवेश गर्ने कार्यक्रम छ ।

माओवादी नेताहरुका अनुसार अभियान अघि बढ्दै गर्दा जनसहभागिता पनि बढ्दै गएको छ । विहान ६ बजे मर्निङ वाक गरेर थालिने अभियानका कार्यक्रम राति ९ बजेसम्म चल्ने गरेको छ । 

अभियानको क्रममा सडकैभरि फूलमाला बोकेर उभिएका सयौं कार्यकर्ता र शुभेच्छुकले अध्यक्ष प्रचण्डसहित नेताहरुलाई स्वागत गरेको देखिन्छ । स्वागतपछि चोकचोकमा सभा तथा एक जिल्लामा एक मुख्य सभा गरिने गरिएको छ ।

सर्लाही प्रवेशपछि हिजोदेखि विभिन्न स्थानमा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीका स्थानीय कमिटीहरुले संयुक्त स्वागत कार्यक्रम राखेका छन् । सो पार्टीका अध्यक्ष महेन्द्रराय यादव पनि अभियानमा सहभागी छन् ।

हुलाकी मार्गमा पर्ने स्थानीय तहहरुले अभियान टोलीलाई स्वागत गरिरहेका छन् । जुन दलबाट जितेका जनप्रतिनिधि भए पनि पूर्वप्रधानमन्त्रीसहित देशका शीर्ष नेता गाउँमा आउनुलाई अवसरको रुपमा लिएर उनीहरुले स्वागत गर्ने गरेको माओवादीले जनाएको छ ।

अभियान टोलीले जनताकै घरमा सामूहिक रुपमा खाना खाने र बाँडिएर बस्ने गरेको छ । टोली आज विहानै पर्सा गाउँपालिकाको मुस्लिम वस्तीमा पुगेर रमजानको शुभकामना आदान प्रदान गरेको थियो । त्यसपछि चन्द्रनगर, ब्रह्म्पुरी गाउँपालिकाका विभिन्न स्थानमा जनभेट्घाट, स्वागत र चोकसभा सप्पन्न भएका छन् भने मङ्गलवामा जनसभा हुँदैछ ।

पार्टीलाई जनतासँग जोड्दै संगठन विस्तार गर्ने, जनताबाट सुझाव संकलन गर्ने, जनता र पार्टी नेतृत्वबीच सम्बन्ध बिस्तार गर्नेजस्ता उद्देश्य लिएर माओवादीले हुलाकी राजमार्ग केन्द्रित तराई–मधेस जागरण अभियान थालेको हो । नेपालकै होचो भूभाग केचनकबलमा प्रचण्डले फाुगन १२ गते उद्घाटन गरेको अभियान कञ्चनपुर पुगेर समापन हुनेछ ।

टिप्पणीहरू