गुठी पीडितले आज घण्टीघरमा नारा लगाउने

गुठी पीडितले आज घण्टीघरमा नारा लगाउने

विगत एक महिनादेखि काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका स्वर्गद्वारी गुठी पीडितहरु आज र्याली गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय कार्यालय जाने भएका छन् । 

दाङ देउखुरीबाट काठमाडौँ आएर गौशालास्थित पशुपति धर्मशालामा बसेका र माघ २० गतेदेखि सडक संघर्ष गरिरहेका उनीहरु आफ्ना माग सुनाउन त्यहाँ जान लागेका हुन् । स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिका सल्लाहकार भरतलाल चौधरीको नेतृत्वको टोली घण्टीघरका लागि निस्किसकेको छ । 

पशुपति धर्मशालाबाट नाराबाजीसहित निस्किएको टोली गौशाला, रातोपुल करिडोर, सेतोपुल, अनामनगर, बिजुलीबजार हुँदै माइतीघर आइपुग्ने छ । करिब सय जनाको संख्यामा रहेका उनीहरुमध्ये आधा माइतीघर मण्डलामा धर्ना बस्ने र समितिका उपाध्यक्ष बालकृष्ण चौधरीको नेतृत्वमा अरु प्रदर्शनकारी बनस्थली, चमतिस्थित रास्वपा मुख्यालय पुग्ने कार्यक्रम छ । 

स्वर्गद्वारी आश्रमको जग्गा मोहियानी हकअनुसार पाउनुपर्ने पीडितहरुले माग राख्दै आएका छन् । त्यसअनुसार कानुन बनाउन सरकार र सरोकारवालाहरुलाई बारम्बार आग्रह गरेपनि सुनुवाई नभएपछि आन्दोलनमा उत्रिनुपरेको संघर्ष समितिले जनाएको छ ।

सरोकारवालालाई खबरदारी गर्न पीडितहरुले अस्ति एमाले र हिजो माओवादी मुख्यालय पुगेर आफ्ना माग र मुद्दाबारे ध्यानाकर्षण गराएका थिए ।

टिप्पणीहरू