प्रचण्डले बचन दिएको चार दिनपछि रिंकु मृत्यु प्रकरणका आरोपी पक्राउ

प्रचण्डले बचन दिएको चार दिनपछि रिंकु मृत्यु प्रकरणका आरोपी पक्राउ
सुन्नुहोस्

सिराहाकी दलित किशोरी रिंकु सदा मुत्य प्रकरणका मुख्य आरोपी पक्राउ परेका छन् । जबर्जस्ती करणीपछि किशोरी मारिएको यस घटनामा संलग्न रहेको भनिएका रुपेश मण्डललाई प्रहरीले आज नियन्त्रणमा लिएको हो ।  

सिराहको नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी १७ वर्षीया रिंकु माघ ३० गते आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । जिल्ला प्रहरी कार्यालय सिराहका एसपी रमेश पण्डितले जनआस्थासँग भने, ‘आज बिहान समात्यौँ, अहिले जिल्लामा ल्याउँदैछौँ ।’

उनका अनुसार घटनामा संलग्न थप तीन जनाको खोजी कार्य भइरहेको छ । 

माघ २६ गते राति करिब नौ बजेतिर शौचालय निस्केकी रिंकु भोलिपल्ट बिहान चार बजे रगताम्य अवस्थामा भेटिएकी थिइन् । त्यसको तीन दिनपछि माघ ३० गते साँझ उनी आफ्नै घरमा मृत भेटिएकी थिइन् ।

घटनालाई सामसुम पार्न केही व्यक्तिले पञ्चायत बसाएका थिए । तर, पीडित परिवारले इलाका प्रहरी कार्यालय, लहानमा जाहेरी दिएपछि यो घटना बाहिर आएको हो । 

पञ्चायत बस्ने व्यक्तिलाई समेत नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ । जसमध्ये केही भागेर भारत भागेको बुझिएको छ ।

घटनाको अनुसन्धान गर्न मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले प्रहरी वरिष्ठ उपरिक्षक शान्तिराज कोइरालाको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति समेत बनाएको थियो । 

पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चार दिनअघि घरमै पुगेर पीडित परिवारसँग भेटेका थिए । त्यसक्रममा उनले पीडकलाई सजाय र पीडितलाई न्याय दिलाउन आफूले सक्दो प्रयास गर्ने बताएका थिए ।

टिप्पणीहरू