बालेनको बलमिच्याई,आफैँ बनाऊ-आफैँ लडाऊ

बालेनको बलमिच्याई,आफैँ बनाऊ-आफैँ लडाऊ
सुन्नुहोस्

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले गठन गरेको छानबिन समिति काम पुरा नहुँदै थला परेको छ । साहले सिफारिसबमोजिम म्याद नथपिदिँदा छानबिन समितिको औचित्यमाथि प्रश्नचिन्ह उठेको छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत तथा नेपाल सरकारका सहसचिव सरोज गुरागाईंमाथि भ्रष्टाचारको आरोप लगाउँदै कार्वाहीका नाममा उनले क्षेत्राधिकार नाघेर छानबिन कमिटी गठन गरेका थिए । पूर्व सचिव तथा आफ्ना प्रशासनिक सल्लाहकार शंकरप्रसाद पाण्डेको संयोजकत्वमा गठित समितिको म्याद थप सिफारिसलाई लत्याएपछि आफैँले लगाएको आरोप पुष्टि गर्न महाभारत परेको छ । 

समितिले छानबिनलाई निश्पक्ष, व्यवस्थित प्रतिवेदन बनाउन १५ दिन म्याद थपको समय मागेको थियो । तर उनले म्याद थपको सट्टा अन्य विभागलाई रायको लागि निर्देशन दिएका छन् । समितिले फागुन ५ गते मेयरलाई सम्बोधन गर्दै लेखेको पत्रमा १५ दिनको म्याद मागेको देखिन्छ । 

यसअघि पुस २५ गते गठित समितिको एक महिने म्याद माघ २८ गते १० दिन थपिएको थियो । संयोजक पाण्डेले मेयरलाई म्याद थप्न आग्रह गर्दै लेखेको पछिल्लो पत्रमा भनिएको छ, ‘भ्युटावरसम्बन्धी सम्पूर्ण प्रक्रियागत विवरण प्राप्त गर्न समय लागेकाले विस्तृत अनुसन्धान,कानुनी तथा प्रविधिगत पक्षको थप अध्ययन, सरोकारवालाहरुसँगको परामर्श, संलग्न कर्मचारीहरुको प्रतिक्रिया, प्राविधिक रिपोर्टहरुको समेत गरी छानबिन कार्यलाई निष्पक्ष, व्यवस्थित र वैज्ञानिक रुपमा प्रतिवेदन तयार गर्ने जस्ता कार्यहरुको लागि समय आवश्यक भएकोले छानबिन समितिको म्याद १५ दिन थप गरिदिनुहुन फागुन ५ गतेको निर्णयानुसार अनुरोध छ ।’

संयोजकको अनुरोधलाई लत्याउँदै मेयरले रातो मसीले स्पष्टसँग लेखेका छन्,‘समितिको म्याद थप नगर्ने ।’ उनले ‘सार्वजनिक निर्माण विभाग, कानुन विभाग र सहरी व्यवस्थापन विभाग प्रमुखले संयुक्त राय पेश गर्ने’ भन्दै फागुन १२ गते निर्देशन दिएका छन् ।  

यता उपमेयर सुनिता डंगोलले छानबिन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेकी छन् । ‘बिना तथ्य र आधार कुनै पनि मेयरले  नेपाल सरकारका सहसचिव तथा कुनै पनि कर्मचारीलाई भ्रष्टाचारी भन्न नपाउने’ उल्लेख गर्दै महानगरका एकजना अधिकृत भन्छन्, ‘छानबिन समितिले हालसम्म गुरागाईलाई भ्रष्टाचारी साबित गर्न सकेको छैन । तर बालेन सस्तो लोकप्रियताका नाममा कर्मचारीलाई भ्रष्टाचारी भन्दै मानमर्दन गर्न उद्दत छन् ।’

उनले मेयरलाई आग्रह गरेका छन्, ‘तपाईंको इमान्दारितामा मेरो कुनै शंका छैन तर कार्यशैली बिल्कुल गलत छ । परिपक्वता देखाउनुहोस् । छानबिन समितिलाई किन निष्किृय पार्नुभयो ? यसको पनि जवाफ दिनसके निकै राम्रो हुन्थ्यो । तपाईंले सहकार्य, सहअस्तित्व र समन्वयलाई बिर्सनुभयो कि ? गम्भीरतापूर्वक सोच्नुहोला ।’

टिप्पणीहरू