विश्वविद्यालयले माल पाएर चाल नपाएपछि विद्यार्थीको बिजोग

विश्वविद्यालयले माल पाएर चाल नपाएपछि विद्यार्थीको बिजोग
सुन्नुहोस्

विश्वले प्रविधिमा फड्को मारेको छ । प्रविधिका कारण आजको युग रफ्तारमा दौडिरहेको छ । नयाँ–नयाँ प्रविधिको खोज अनुसन्धान भइरहेको छ । विडम्बना ! प्रविधि प्रयोगको सवालमा नेपाल कछुवा गतिमा हिँडेको छ । अनलाइन सेवासमेत राम्ररी सञ्चालन गर्न सकिएको छैन । यसबाट सेवाग्राही सेवा लिनका लागि कार्यालय नै धाउनुपर्ने बाध्यता अधिकांश स्थानमा छ । 

सबै सरकारी कार्यालयले आफ्नो अनलाइन पोर्टल सञ्चालनमा ल्याएका छन् तर सेवा भरपर्दो देखिँदैन । सरकारले सरकारी सेवालाई डिजिटाइज गर्ने, इन्टरनेट सेवालाई प्रभावकारी बनाउने नीति लिएको छ । यद्यपि, त्यो भाषण र कागजमा सीमित बन्न पुगेको छ । प्रविधि भित्रिएका छन् तर प्रयोग गर्न जान्ने दक्ष जनशक्तिको अभाव छ । 

कुनै कार्यालयको सिस्टम डाउन भएमा ‘फिक्स’ हुनै महिनौं लाग्छ । जसका कारण सेवाग्राहीले अनाहकमा दुःख पाउने गरेका छन् । सरकारी निकायहरु नाम मात्रको ‘डिजिटल’ बन्दा स्नातकोत्तर तहका विद्यार्थीहरुको बिचल्ली भएको छ । आजबाट त्रिभुवन विश्वविद्यालय (त्रिवि) को मानविकी तथा समाजशास्त्र संकायअन्तर्गत स्नातकोत्तर तहको दोस्रो सेमेस्टरको परीक्षा छ । 

पहिलो दिन आज कन्स्टिट्युसन एण्ड गभर्मेण्ट–५५६ को परीक्षा रहेको छ । दिँउसो १ बजेदेखि परीक्षा शुरु भएपनि प्रवेशपत्र हात नपर्दा परीक्षार्थीहरु मर्कामा परेका छन् । परीक्षार्थीहरुका अनुसार आज बिहानैदेखि त्रिविको ‘एक्जाम पोर्टल’ ले काम गरेको छैन । पटकपटक नम्बर थिच्दा पनि ‘ओटिपी जेनेरेट’  नभएपछि परीक्षार्थीहरुलाई कीर्तिपुरस्थित विश्वविद्यालय नै धाउनुपर्ने बाध्यता भएको छ । 

परीक्षा हलमा हुनुपर्ने परीक्षार्थीहरु प्रवेशपत्रका लागि लाइनमा बस्न बाध्य एका हुन् । एक परीक्षार्थीले जनआस्थासँग भनिन्,‘योचाँहि अचाक्ली लापरबाही भयो । सिस्टम बिग्रिएको छ भने समयमै बनाउनुपथ्र्यो । विद्यार्थीको भविष्यसँग जोडिएको विषयमा त्रिविले ख्यालख्याल गरेको छ ।’ ती परीक्षार्थीका अनुसार परीक्षा फाराम र प्रवेशपत्र दुवै अनलाइनबाट लिने हो । 

कतिपयको पासपोर्ट लग–इन हुने र कतिपयको नहुने समस्या देखिएको उनको भनाइ छ । लग–इन भएपनि फोनमा ‘ओटिपी’ नम्बर नै नआउने उनले जानकारी दिइन् । त्यसपछि उनी प्रवेशपत्रका लागि त्रिविकै कार्यालय पुगेकी हुन् । मानविकी संकायका सहायक डिन प्राध्यापक किरण आचार्यलाई समस्या सुनाउँदा उल्टै थर्काएको परीक्षार्थीहरु बताउँछन् । 

‘हिजै प्रवेशपत्र लिनुपर्छ’ भन्दै हप्काएको उनीहरुको गुनासो छ । ‘हिजो र अस्ति सार्वजनिक बिदा थियो अनि हामीले कसरी लिने ? समस्या समाधान गर्नतर्फ भन्दापनि उहाँले हप्काउन थाल्नुभयो । त्यहाँ आईटी कर्मचारी होलान्, बनाउन लगाउनुपर्यो । गैरजिम्मेवारपूर्ण कुरा गरेर हुन्छ ? हामीले पनि १५ सय रुपैयाँ तिरेर फाराम भरेको हो । वर्षभरिको फिस बुझाएको छौं, हाम्रो मेहनत–दुःख छ’,एक परीक्षार्थीले भने । 

प्रवेशपत्र लिन त्रिवि पुगेका अधिकांश विद्यार्थी आजको परीक्षा छुट्ने चिन्तामा देखिन्थे । 

बाहिरी जिल्लाका परीक्षार्थी तनावमा 

आजदेखि देशैभर एमए पोलिटिकल साइन्सको दोस्रो सेमेस्टरको परीक्षा हुँदैछ । बिहानैदेखि सिस्टम चलेको छैन । उपत्यकाभित्रका विद्यार्थीहरु प्रवेशपत्रका लागि त्रिविको कार्यालय पुगेपनि बाहिरी जिल्लाका परीक्षार्थी आपतमा परेका छन् । त्रिवि धाउन सम्भव नभएकाहरुको आजको परीक्षा छुटेको छ । उनीहरुको वर्षभरिको मेहनेत विश्वविद्यालयको लापरबाहीका कारण खेर गएको छ । 

यता, सहायक डिन आचार्यले बिहान समस्या आएको बताए । उनका अनुसार ओटिपी नै नआउने समस्या भएको हो । अहिले समस्या समाधान भइसकेको दाबी गरे । प्रवेशपत्र नपाएका विद्यार्थीहरुलाई परीक्षा दिइने व्यवस्था मिलाइएको जानकारी दिए । 

उनी भन्छन्,‘बिहान टेलिफोनमा समस्या भएको थियो । त्यसका कारण केही डिस्टर्ब भयो । पटकपटक कोसिश गर्दापनि ओटिपी नै आइरहेको थिएन् । त्यसपछि हामीले आईटीलाई जानकारी गरायौं । आईटीले समस्या समाधान गरिसकेको छ । प्रवेशपत्र नपाएका विद्यार्थीहरुलाई हामीले परीक्षा दिने व्यवस्था मिलाएका छौं ।’

आगामी फागुन २७ गतेसम्म परीक्षा रहेको छ । फागुन २० गते पब्लिक पोलिसी एण्ड गभर्नेन्स–५५७, फागुन २२ गते कन्फ्लिक्ट, पिस एण्ड डेभलपमेण्ट–५५८, फागुन २५ गते इन्टरनेसनल ल–५५९, फागुन २७ गते पोलिटिक्स एण्ड गभर्मेण्ट अफ नेपाल–५६० को परीक्षा छ ।

टिप्पणीहरू