खोंचमा जिल्ला सम्मेलन गरेपछि काँग्रेसभित्र अनेक तर्क

खोंचमा जिल्ला सम्मेलन गरेपछि काँग्रेसभित्र अनेक तर्क
सुन्नुहोस्

नेपाली काँग्रेस रोल्पाले सदरमुकाम लिवाङमा आफ्नो दोस्रो जिल्ला सम्मेलन सम्पन्न गरेको छ । सम्मेलनअघि काँग्रेसले पञ्चेबाजासहित शक्ति प्रदर्शन गरेको थियो । तर, धुमधामका साथ आयोजना गरिएको सम्मेलन ‘नुनबिनाको तरकारी’ जस्तै बनेको एकथरी काँग्र्रेसीको निश्कर्ष छ । 

महामन्त्री गगनकुमार थापालाई सम्मेलनमा प्रमुख अतिथि बनाइएको थियो । तर, महामन्त्रीको भाषण सुन्न उपस्थित भएकाको संख्या तुलनात्मक रुपमा न्यून भएपछि कारण खोज्न थालिएको छ । काँग्रेसमा सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाको आ–आफ्नै गुट छ । ती दुबै गुटकाले कार्यक्रम बहिष्कार गरेपछि सम्मेलनमा उपस्थित हुने काँग्रेसीको संख्या कम भएको बताइन्छ ।

थापा देउवातिर ढल्केको भन्दै शेखर समूहले उनलाई असहयोग गरेको बताइन्छ । देउवानिकट मानिने लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घर्तीमगरले समेत कार्यक्रमलाई असफल बनाउन कार्यकर्ताहरुलाई कडा निर्देशन दिएका थिए । स्रोतका अनुसार उनले आफ्नो सचिवालयबाट फोन गरेसर ‘कुनैपनि हालतमा कार्यक्रम असफल पार्नुपर्ने’ सन्देश प्रवाह गरेका बताइन्छ ।

त्यसपछि आयोजक पक्ष फराकिलो ठाउँको सट्टा खोंचमा कार्यक्रम गर्न बाध्य भएको आरोप छ । लुम्बिनी प्रदेश कमिटी सभापति अम्मरसिंह पुनले नेविसंघका ‘वृद्ध नेता’ मनोजमणि भट्टराई र जिल्ला सभापति किशोर आचार्यलाई सोही विषयलाई लिएर केरकार पारेको एकथरी काँग्रेस बताउँछन् ।

‘टुँडिखेलजस्मा भेला गर्नुको साटो खोंचमा कार्यक्रम गरेको’ भन्दै उनले दुई जनाको सातो खाएका थिए । आचार्य स्थानीय खाद्यान्न तथा पुस्तक पसले हुन् । उनको आचरणप्रति जिल्लाका नेताहरु सन्तुष्ट नरहेको बताइन्छ । नेविसंघको अध्यक्षमा प्रतिस्पर्धी मनोजमणि अर्का उम्मेदवार नैनसिंह महरसँग पराजित भएका थिए । हालसम्म पनि नेविसंघमै रहेकाले उनलाई ‘वृद्ध नेता’ को ट्याग भिराइएको छ ।

यता, प्युठानमा पनि रोल्पाकै दृश्य दोहोरियो । आइतबार रोल्पामा भाषण दिएर महामन्त्री सोमबार प्युठानको कार्यक्रममा सहभागी भएका थिए । सभापति देउवानिकट प्युठानका नेता सरोज थापा (रोज राणा) ले कार्यक्रम भंग गराउन खोजेको काँग्रेस स्रोतको दाबी छ । त्यहाँ सल्यान र रोल्पाको पूर्वी भेगमा पर्ने दमाचौर, बागचौरबाट मान्छे लगिएको थियो । प्युठानको कार्यक्रम पनि सोचेअनुसार सम्पन्न नभएपछि थापा निकट निमा गिरी समूहले त्यसको दोष राणा समूहमाथि लगाएको छ । गिरी काँग्रेसकी समानुपातिक सांसद हुन् । उनीमाथि काँग्रेसीहरुले नै ‘मुख चलाउने तर दिमाग नचलाउने’ नेतृको ट्याग भिराइदिएका छन् ।

टिप्पणीहरू