‘अल्छि तिघ्रो, स्वादे जिब्रो’ मा सरकारकाे जाेड

‘अल्छि तिघ्रो, स्वादे जिब्रो’ मा सरकारकाे जाेड

मुलुकको अर्थतन्त्र दिनहुँ शिथिल हुँदै गएको छ । रोजगारी, विदेश निर्यात साँघुरिएको धेरै भइसक्यो । आम्दानीभन्दा खर्च बढीको मुलुकको हालको अवस्था नेपालीहरुको उखान ‘अल्छि तिघ्रो, स्वादे जिब्रो’ सँग ठ्याक्कै मेल खाएको छ । 

सरकार, जिम्मेवार निकाय तथा पदाधिकारीहरु रोजगारी र निर्यात बढाउने, आन्तरिक उत्पादनमा जोड दिने काममा निरन्तर चुकिरहेका छन् । तर, सरकार विदेशमा रहेका नेपाली दूतावास तथा नियोगका कर्मचारीलाई प्रतिनिधित्व गराउन भन्दा यताका पदाधिकारी र कर्मचारीहरुलाई विदेश भ्रमणमा पठाएर विदेशी मुद्रा खर्च गर्न उद्दत देखिन्छ । 

यसअघि झैँ हिजो राति बसेको क्याबिनेट बैठकले पनि मन्त्री, सचिव तथा आयोगका पदाधिकारीहरुलाई विदेश भ्रमणमा पठाउने निर्णय गरेको छ । जसअनुसार खानेपानी मन्त्रीलाई फागुन १८ गतेदेखि २२ गतेसम्म भारत भ्रमणको स्वीकृति दिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई फागुन २७ र २८ गते दुई दिनका लागि संयुक्त राज्य अमेरिकाको वाशिंगटन डिसी भ्रमणको स्वीकृति क्याबिनेट बैठकले दिएको छ ।

त्यस्तै भारतको नयाँ दिल्लीमा फागुन २१ गतेदेखि २३ गतेसम्म हुने दिगो विकाससम्बन्धी सम्मेलनमा भाग लिन वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीलाई पठाइने भएको छ । योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीलाई आगामी वैशाख १४ देखि १७ गतेसम्म अमेरिका जान अनुमति दिइएको छ । 

आयोगका सदस्यहरु रमेशप्रसाद सिंहलाई फागुन १९ देखि २१ सम्म भारतको जयपुर, सदस्य जयबहादुर टण्डनलाई फागुन १९ देखि २१ गतेसम्म बैंकक पठाउने भनिएको छ । क्याबिनेटले कृषि मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शिक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालयका सचिवहरुको वैदेशिक भ्रमण स्वीकृत गरेको छ ।

टिप्पणीहरू