स्याउ रोप्न गएका विप्लव ट्रम्पको निर्णयले हर्षित

स्याउ रोप्न गएका विप्लव ट्रम्पको निर्णयले हर्षित
सुन्नुहोस्

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव जुम्लामा छन् । ५८औँ जन्मदिन मनाउन र पार्टीले सञ्चालन गरिरहेको स्कुलिङ तथा स्याउ रोप्ने कार्यक्रममा सामेल हुन सदरमुकाम खलंगाबाट दिनभर हिँडेर हिजो साँझ हिमा गाउँपालिका पुगेका हुन् । 

त्यहाँ उनलाई स्थानीय नागरिक र कार्यकर्ताले झाँकी, नृत्य र बाजागाजासहित फूलमालाले स्वागत गरेका थिए । यसैबीच विप्लवले त्यतैबाट एमसीसी परियोजना स्थगन गरेकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिएका छन् । 

एक विज्ञप्ति जारी गर्दै उनले तीन महिना (९० दिन) को लागि विदेशी विकास सहायत रोक्ने ट्रम्प प्रशासनप्रति आभार प्रकट गरेका हुन् । अमेरिकी सत्तामा ट्रम्पको पुनरागमनसँगै वैदेशिक नीतिमा व्यापक हेरफेर गरिएको छ भने विभिन्न देशमा सञ्चालित साढे दुई सयभन्दा बढी परियोजना कटौती गर्ने निर्णय भएको छ । नेपालमा पनि युएसएआईडी र एमसीसीजस्ता ६ वटा ठूला परियोजनाहरु रोकिएको अवस्था छ । 

शुरुबाटै एमसीसीको विपक्ष रहेका विप्लवले सोअन्तर्गतका परियोजना रोक्नुपर्नेमा जोड दिँदै आएका छन् । उनको पार्टीले एमसीसी इण्डो-प्यासेफिक इस्टाटेजीको अंग भएकाले मुलुकको हितमा नरहेको निष्कर्ष निकालेको छ । ट्रम्पको पछिल्लो निर्णयको स्वागत गर्दै उनले नागरिकलाई अकल्पनीय क्षति पुर्याउने एमसीसी परियोजना रोकिएकोमा खुशी व्यक्त गरे । 

एमसीसी सधैँको लागि खारेज गर्नुपर्ने माग राख्दै विप्लवले भनेका छन्, ‘डोनाल्ड ट्रम्पको कार्यकारी आदेशबाट स्थगन हुन पुगेको एमसीसी कम्प्याक्टले नेपाली जनताको संघर्ष र आवाजमा सकारात्मक प्रभाव परेको छ, यसको लागि हाम्रो जनप्रिय पार्टी नेकपा हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।’

नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्धलाई प्रगाढ बनाउन नि:स्वार्थ नियतका साथ नयाँ विकासका परियोजनालाई अगाडि बढाउन सकिने उनको भनाई छ ।

तस्बिरहरुः

​​​​​​​

टिप्पणीहरू